कसैले जगेर्ना नगरीदिँदा धमिराले ध्वस्त महाकवि देवकोटको घर

धमिराले खाएका भित्ता। कथा र उपन्यासमा मात्रै पढेको वाक्यांश हो यो। तर गत साता आफ्नै आँखाले देखें त्यो दृश्य। त्यो पनि काठमाडौंको मुटु मैतीदेवीस्थित एक घरमा।

एक कम्पाउन्डभित्र देखिन्थ्यो तीनतले पक्की इँटाको घर। घरको बाहिरी गेटको ताल्चामा झुन्ड्याएर राखिएको बिजुलीको बिल हेर्दा घरभित्र कोही त बस्लान् नि भन्ने लाग्थ्यो। तर उक्त घर मानवविहीन भएको वर्षौं भइसक्यो। यद्यपि यसरी नै बिजुली र पानीको बिल आउन भने अझै छोडेको छैन।

मैतीदेवी मन्दिरबाट केही मिनेटको हिँडाइमै पुगिने यो घर महाकवि लक्ष्मीप्रसाद देवकोटाको हो। बर्सेनि लक्ष्मी जयन्तीमा धेरैले देवकोटा र उनका कृतिको गुनगान गाउने गर्छन्। तर जहाँ बसेर देवकोटाले ती रचना सिर्जन गरे, त्यही घरलाई सम्झने कोही भएनन्।

तिहारको लक्ष्मीपूजामा जन्मेका हुनाले उनलाई लक्ष्मीप्रसाद भनियो। देवकोटा मेहनती स्वभावका भएकाले उनलाई लक्ष्मीको कृपा कहिल्येै कम भएन। तर पनि उनको दानी स्वभावले तलब पाएकै दिन पनि घर आइपुग्दा खल्तीमा सुको नबचेका महिना पनि धेरै बिते उनको जीवनमा।

देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए। आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्य रस बस्न थाल्यो। त्यसैगरी कविशिरोमणि लेखनाथ पौडेलका कविताले पनि उनलाई प्रेरणा मिलेको थियो। सोह्र वर्षकै उमेरमा मनदेवीसँग देवकोटाको विवाह भयो। त्यसबेलाको उनको दाम्पत्य प्रेम दर्शाएर नै उनले ‘मुनामदन’ लेखे।

देवकोटा र मनदेवीबाट पाँच छोरी र चार छोरा जन्मिए। उनकै माइली छोरी अम्बिकादेवी रिमालले समेत आफ्ना आमा र बुबाका बीचमा जस्तो चोखो प्रेम कसैमा नदेखेको एक अन्तर्वार्तामा बताएकी थिइन्।

देवकोटा त्रिचन्द्र कलेजमा पढाउँथे। त्यसैगरी विद्यार्थी उनीसँग ट्युसन पढ्न घरमै आइपुग्थे। यति कमाइले पनि देवकोटाको परिवारलाई कहिल्यै पुग्ने थिएन। देवकोटाले तलब बाँड्छ रे भन्ने सुनेपछि त्रिचन्द्रको गेटदेखि पैसा माग्ने बसेका हुन्थे।

सबैलाई बाँड्दै आउँदा घर पुग्दा खल्ती रित्तिसक्थ्यो। अनि आफ्नो घर चलाउन भने पत्नी मनदेवीलाई ‘छिमेकीसँग मागेर टार न, म तिरिदिउँला’ भन्थे। कहिलेकाहीं देवकोटाले ट्युसन पढाएका पैसा मनदेवीको हातमा पर्‍यो भने पनि उधारो माग्न आउने छिमेकीलाई देवकोटा बाजेसँग पैसा छ माग्नुन भनेर आफैं उस्काउने गर्थे। मनदेवीले छैन भनेर अलि पछाडि सार्न खोजे ‘बज्यैले तपाईंलाई झूटो बोल्दैछिन्, ट्युसनको पैसा भर्खर उनैले लिएकी छन्’ भन्ने गर्थे।

महाकविको जन्म डिल्लीबजारको घरमा भए पनि पछि उनका बाबुको दाजुभाइको अंशबन्डामा त्यो घर काकालाई पर्‍यो। उनले आफ्नो घरजम मैतीदेवीमा सुरु गरे। यसरी देवकोटाले आफ्ना सन्तान हुर्काएका, सन्तानभन्दा बढी माया गरेर रचेका आफ्ना सिर्जना र सबैलाई भेला गरेर रमाइलो गरेको त्यो घरको हालत भने आज दयनीय छ।

मूलढोकाको ताल्चा खोलेर भित्र छिर्नेबित्तिकै देखिने देब्रेपट्टिको भित्तालाई धमिराले खाइसकेको छ। भर्‍याङ चढ्ने क्रममा समाउने काठका रेलिङ पनि किराले खाएर मक्किसकेका छन्। तीमध्ये केही भने देवकोटाकी माइली छोरी अम्बिकादेवी रिमालले बनाइदिएकी थिइन्। तर ती पनि पुराना भइसके।

भर्‍याङ चढेर माथिल्लो तल्लामा पुगेपछि देब्रेपट्टि रहेको ठूलो कोठा लक्ष्मीप्रसाद हो भन्ने कुरा त्यहाँ झुन्ड्याइएका तस्बिरबाट स्पष्ट हुन्थ्यो। देवकोटाले आफ्नी पत्नी र अन्य विभिन्न वरिष्ठ व्यक्तित्वसँग खिचेका फोटो ठाउँठाउँमा झुन्डिएका छन्।

कोठाभित्र छिरेर दुईतीन पाइलाकै दूरीमा दलिन खसेर ठूलो भ्वाङ परेको थियो। भूकम्पको बेलामा उनको कोठामा मात्र होइन, घरका अन्य थुप्रै भाग भत्किएका छन्। उनकै कोठामा रहेका दराजमा अझै देवकोटाले लेखेका र उनीबारे लेखिएका थुप्रै किताब भेटिन्छन्।

भारतका चर्चित साहित्यकार राहुल संस्कृतायन एकपटक काठमाडौं आउँदा देवकोटाको कविता सुनेर दंग परेका थिए। कार्यक्रममा जाँदा लेखेको कविता लैजान बिर्सिएर देवकोटाले बिहान पत्नीले पकाएको दालभात डुकु सम्झँदै कार्यक्रमस्थलमै ‘दालभात डुकु’ शीर्षकको कविता लेखेर वाचन गरी सुनाएका थिए। देवकोटाको कविताबाट प्रभावित भएर उनले ‘काठमाडौंमा त कवि छैनन् भन्ने सोचेको त, किड्स, सेली र सेक्सपियर मिलेर एउटै देवकोटा बनेका रहेछन’ भन्ने प्रतिक्रिया दिएका थिए।

Loading...
प्रकाशित मिति २१ कार्तिक २०७५, बुधबार १२:४२