जापानमा आयोजना हुने ओलम्पिक खेलकुदका लागि महिला फुटबल अन्तर्गत एसियन छनोटको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ ।
म्यानमारमा बिहिबार भएको पहिलो खेलमा नेपालले भारतसंग १ / १ गोलको बराबरी खेल्दै अंक बाडेको हो ।
याङगोनस्थित थुवुन्ना स्टेडियममा जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएको नेपाल सुरुवाती अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिएको हो । खेलको ११ औं मिनेटमा नेपालले कप्तान निरु थापाको गोलबाट अग्रता बनाएको थियो । तर, खेलको ३७ औं मिनेटमा कमजोर डिफेन्सको फाइदा उठाउदै भारतले बराबरी गोल फर्काएको थियो ।
त्यसपछि खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल १ – १ गोलको बराबरीमा सकिएको थियो । बराबरीसंगै समूह ‘सी’ मा रहेको नेपाल र भारतले एक एक अंक जोडेका छन् ।
महिला फुटबलमा भारतविरुद्ध नेपालको यो दोस्रो बराबरी हो । नेपालले अहिलेसम्म भारतलाई हराउन सकेको छैन । नेपालले यसअघि भारतसंगको आठ खेलमध्ये १ खेलमा बराबरी र ७ खेल्म पराजय व्यहोरेको छ ।
नेपालले अब दोस्रो खेलमा आइतबार घरेलु टोली म्यानमारसँग खेल्नेछ । अन्तिम खेल २७ गते बंगलादेशसँग खेल्नेछ ।
प्रत्येक समूहका बिजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउनेछन् । यस्तै तेस्रो हुनेमा उत्कृष्ट दुईले समेत दोस्रो चरणको यात्रा तय गर्नेछन् ।