अस्ताउँदो सूर्यलाई अर्घ दिएर मंगलबार देशभरि छठ पर्व मनाइँदै छ। विशेषगरी तराई भागमा यो पर्व धुमधामसँग मनाउने गरिन्छ। यसैक्रकमा विराटनगरमा भने यसपालि पनि छठ मनाउनेका भीडमा मेयर भीम पराजुलीले सबैको ध्यान तानेका छन्।
उनले छठको विशेष पूजा मात्र गरेनन्, अस्ताउँदो सूर्यलाई अर्घ दिन साढे तीन किलोमिटर टाढासम्म िघस्रिने भएका छन्। यो पूजाका लागि मेयर पराजुली सोमबारदेखि पानीधरि नपिई निराहार व्रत बसेका थिए।
मेयर पराजुली अपरान्ह १२ बजे विराटनगर–३ स्थित आफ्नो घर नजिकैको शिव पाञ्चायन मन्दिरबाट घस्रिन सुरु गरेका हुन्। उनी सिंघिया नदी पुग्न झन्डै ४ घन्टा लाग्नेछ।
उनी सडकमा घस्रिन थालेपछि विराटनगरवासीको भीड लागेको छ। महानगरवासीको विकास, सुख र समृद्धिका लागि व्रत बसेको र घिस्रिएर नदीमा पुगेको मेयर पराजुलीले बताएका छन्। आफूले गरेका भाकल पूरा भएमा छठको दिन यसरी घस्रेर हिँड्ने चलन छ।
आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वमा व्रतालुले आज बेलुकी कुण्ड, पोखरी र तलाउमा उभि दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्ने छन्।
सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वासअनुरुप पारस्परिक आत्मीयता र सद्भावका प्रतीक यो पर्व मनाइन्छ।