डा. सुधांसु केसी
स्वस्थ मानिसले जमराको जुस खाँदा केही फरक पर्दैन । तर, रोग लागिसकेकाले नखाएकै राम्रो । नेपालमा केही कुरा पनि बुझेर गर्ने बानी छैन । एकचोटि केही लहर आउँछ, सबै त्यसकै पछि लाग्छन् ।
वैज्ञानिक कारण खोजौँ भन्ने प्रवृत्ति कसैको छैन । त्यसैले कहिलेकाहीँ दु:ख पाइन्छ । भन्नेले भन्छन्, तर जमराको जुसमा क्यान्सर निको पार्ने क्षमता छैन ।
सबै प्राकृतिक तत्त्व औषधी नै हुन् भन्ने छैन । कलेजोका रोगीका लागि त जमराको जुस विष नै हो । गत साता मात्रै जमराको जुस खाएर बिरामी भएका दुई बिरामी वीर अस्पतालमा भर्ना भए ।
एक जना समयमै डिस्चार्ज भए भने अर्कालाई नर्भिक अस्पतालमा सारियो । हालसम्म २०–२५ जना यस्ता बिरामी आइसकेका छन् । कलेजो सिरोसिसका बिरामीले ‘अर्गानिक’ भनेर खाएको जमराको जुस अभिशाप प्रमाणित भएका घटना हाम्रै आँखाअगाडि छन् ।
तर, हामीले कहिले महसुस गर्ने ? जुसका फाइदैफाइदा छन् भन्दा सबैले पत्याए । मैले बेफाइदाबारे ट्वीट गर्दा धेरैले पत्याएनन् । उल्टै ममाथि खनिए । मैले खाँदै नखानुस् पनि भनेको होइन । रोग लागिसकेको छ भनेचाहिँ नखानुस् भनेको हुँ ।