विश्व चर्चित कोरियन गीत ‘गङ्नम स्टाईल’का गायक ‘सार्इ’ नेपाल आउँदै

काठमाडौं –
संसारमै चर्चित रेकर्ड ब्रेकर गीत ‘गङनम स्टाइल’ का गायक ‘सार्इ’ अर्थात पार्क जेई साङ नेपाल आउने भएका छन् ।नेपाल र कोरियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ४५ वर्ष पुगेको अवसरमा हुने कार्यक्रममा सहभागी हुन उनी नेपाल आउन लागेका हुन् ।

‘सार्इ विथ के पप लाइभ इन नेपाल’ नाम दिइएको कन्सर्ट डिसेम्बर १५ तारिखमा खुमलटार, सातदोबाटोमा रहेकाे रेडियो नेपालको ग्राउण्डमा हुनेछ । ५ घण्टासम्म चल्ने कन्सर्टमा नेपालको तर्फबाट दीपक बज्राचार्यसँगै हास्यकलाकार राजा राजेन्द्र पोखरेल, गायिका मिलन अमात्य, निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी लगायतले प्रस्तुति दिने बतहईएको छ ।

‘सार्इ’ दक्षिण कोरियाका गायक, र्‍यापर र रचनाकार हुन् । उनी कोरियामा कमेडी स्टेज प्रस्तुति र भिडियोमार्फत चर्चित छन् । उनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने गीत भने गङनम स्टाइल नै हो ।

१५ जुलाई २०१२ मा सार्वजनिक भएको गङनम स्टाइल गीतको भिडियो २१ डिसेम्बर २०१२ सम्म यूट्युबको इतिहासमै पहिलोपटक एक अर्ब भ्युज पाउने गीत बनेको थियो । गीतको भ्युजसँगै उनी पनि संसारभर चिनिएका हुन् ।

अहिलेसम्म यो गीतलाई ३ अर्ब भन्दा बढी पटक हेरिसकिएको छ । यो गीत चर्चामा आएको समयमा विश्वप्रसिद्ध राजनीतिज्ञहरुले समेत गङनम स्टाइलमा डान्स गर्ने प्रयास गरेका थिए ।

Loading...
प्रकाशित मिति २८ कार्तिक २०७५, बुधबार २१:३२