अायो कडा नियम : २५ वर्ष नपुगेकाले रक्सी पिउन नपाईने

अब २५ वर्ष उमेर ननाघेका युवालाई मदिरा पिउन प्रतिबन्ध लगाइएको छ । तर प्रतिवन्ध मगर युवालाई मात्र रहेको छ ।

नेपाल मगर संघले यस्तो नियम बनाउदैँ जिल्ला÷जिल्लामा रहेको समितिलाई यस अभियानलाई सफल बनाउन अनुरोधसमेत गरेको छ।

युवा जनशक्ति रक्सी र चुरोटलगायतका कुलतमा लाग्ने क्रम धेरै देखिएकाले भोलि देशमा नेतृत्व गर्ने जनशक्ति अभाव हुन सक्ने भन्दै गोरखामा भएको नवौं केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

‘सिक्ने, शिक्षा लिने, युवाको जोस जाँगरको उमेरमा अहिले युवाले चुरोट, रक्सी खाएर बिताउने क्रम बढेको छ, यसलाई निरुत्साहित गर्नुपर्ने निष्कर्षसहित मगर संघको नवौं बैठकले २५ वर्षभित्रका मगर युवालाई मदिरा बन्देज लगाएको हो’,

पत्रकार सम्मेलनमा अध्यक्ष नवीन रोका मगरले भने, ‘जातले पाएको भनेर सानैदेखि रक्सी खानुपर्ने, खुवाउने चलन छ, यसलाई पनि हामी निरुत्साहित गर्ने अभियान चलाउँछौं ।’ अन्य समुदायका युवालाई पनि कुलतमा नलाग्न प्रेरित गराउने उनले बताए ।

गोरखा नगरपालिका ५ पस्लाङ होम स्टे र मगर संघ गोरखाको सभाहलमा शुक्रबारदेखि दुई दिनसम्म केन्द्रीय समितिको बैठक चलेको थियो ।

Loading...
प्रकाशित मिति २९ कार्तिक २०७५, बिहीबार २०:२२