२५० बर्ष पहिलाको ‘पृथ्वीनारायण शाहको ससुराली घर’

कुनै समय स्वतन्त्र राज्य ‘मकवानपुर’ को राजधानी रहेको मकवानपुर गढी सेन वंशीय राजाहरुको राज्य सञ्चालनको केन्द्र थियो । करिब १३२ रोपनी क्षेत्रमा फैलिएको यो गढी नेपालकै सबैभन्दा ठूलो हो ।

अग्लो डाँडाको टुप्पामा पुराना संरचनाहरुको भग्नावशेष । वरिपरि चौपर्खालले घेरिएको । करिब अढाइ सय वर्ष पहिले यहीँ थियो- पृथ्वीनारायण शाहको ससुराली घर ।

हालै संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सय वटा पर्यटकीय गन्तव्यमा यो मकवानपुर गढीलाई पनि समेटेको छ ।

मकवानपुरगढी विसं १६१० मा सेन वंशीय राजाको शासनकालमा निर्माण भएको अध्ययनबाट देखिन्छ ।
विसं १८१९ मा मकवानपुरगढी शाह बंशीय राजाको कब्जामा पर्‍यो । मुकुन्द सेनले स्थापना गरेको यो राज्यमा लुहाङ सेन, राघव नरेन्द्र सेन, हरिहर इन्द्र सेन, शुभ सेन र माणिक सेनले राजकाज चलाएका थिए ।

हेमकर्ण सेनको समयमा गोरखाका राजा पृथ्वीनारायण शाहसँग मकवानपुरको सम्बन्ध गाँसियो । हेमकर्णले आफ्नी छोरी पृथ्वीनारायण शाहलाई दिए । पृथ्वीनारायण शाहले यही सम्बन्धका आधारमा मकवानपुरगढीको सुरक्षा स्थिति बुझेर आक्रमणको योजना तयार गरेका थिए ।

स्थानीयबासीको भनाइअनुसार मकवानपुर गढीमा युद्ध जित्न गाह्रो हुने भएपछि नै पृथ्वीनारायण शाहले चतुर्‍याइँपूर्वक ज्वाइँको सम्बन्ध गाँसेका थिए । नेपाल एकीकरणको उनको अभियानमा मकवानपुर राज्य जित्न जति जरुरी थियो, उति नै कठीन पनि ।

पृथ्वीनारायण शाहले मोहोदम कीर्ति शाह, शुरप्रताप शाह, दलमर्दन शाह, रण रुद्र शाह, नन्दु शाह, काजी बंसराज पाँडे, काजी कहरसिंह बस्नेत, काजी नरसिंह बस्नेत तथा काजी अभिमानसिंह बस्नेतको नेतृत्वमा ११०० सेनासहित मकवानपुरमा युद्ध लड्न सेना पठाएका थिए ।

मकवानपुरगढीमा प्राप्त शिालालेख अनुसार विसं १८१९ भदौ ९ गते भएको सो युद्धमा एक सय गोर्खाली र चारदेखि ५ सय मकवानपुरे सेनाले साहदत प्राप्त गरे । राज्य छाड्नुपरेपछि राजा दिग्वन्धन सेन भागेर पर्साको हरिहरपुरगढी पुगेको कथन छ । पछि सो गढी पनि गोर्खाली फौजले जितेको थियो ।

काठमाडौंको दक्षिण भागमा रहेको यो राज्य जितेपछि नै गोर्खाली सेना अझ सशक्त भएको थियो । यहाँबाट प्राप्त हतियार अन्य युद्ध लड्न सहयोगी बन्यो ।
फोटो मिलन श्रेष्ठ/ अनलाईनखबर

Loading...
प्रकाशित मिति १ मंसिर २०७५, शनिबार १०:०४