बागलुङमा रु १ लाखको खुकुरी हेर्नेको भिड

हेर्दै अजङ्गको, तौल ३५ किलो र मूल्य पनि रु ९९ हजार ९९९ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ । कालिगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद छैन । अहिले बागलुङ बडिगाड महोत्सव छिर्नेहरूको ध्यान खुकुरीले खिचेको छ ।

उक्त खुकुरी बनाउन आठ दिन लागेको कालिगड विकले बताउनुभयो । अठतीस वर्षीय विकले १३ वर्षको उमेरदखि उक्त पेशा अपनाउँदै आउनुभएको हो । उहाँले महोत्सवमा खुकुरीसँगै अन्य घरेलु हातहतियार भाँडाकुडा बिक्रीमा राख्नुभएको छ ।

विगत सात वर्षदेखि बुर्तिवाङ बजारमा ‘बुर्तिवाङ आरन सेवा’ सञ्चालन गर्दै आउनुभएका विकले भन्नुभयो, “मेला तथा महोत्सव हुँदा ‘स्टल’ राख्छु एउटा महोत्सवमा जाँदा करिव रू एक लाखसम्म कमाइ हुन्छ ।” छिमेकी जिल्ला गुल्मी, पाल्पा लगायत स्थानमा हुने मेला, महोत्सवमा पनि उहाँ स्टल लिनुहुन्छ ।

आगन्तुकलाई लोभ्याउने गरी बनाएको खुकुरी किन्ने भन्दा पनि हेर्ने बढी हुन्छन् । सोख र पैसा भएकाले सजावाटका लागि ठूलो खुकुरी किन्ने गर्छन् । ‘ठूलो र महङ्गो खुकुरीको विशेष माग हुँदा मात्र बनाएर बेच्छौं’ कालिगड विकले भन्नुभयो, “महोत्सवमा आउने दर्शकले अनौंठो मानेर उक्त खुकुरीबारे जिज्ञासा लिने गरेका छन् । ”

“आरन हाम्रो पुख्र्यौली पेशा हो” विकले भन्नुभयो, “अहिले आरनलाई सुधारेर व्यावसायिक बनाएको छु ।” विकका बुबा पदमबहादुर पनि अझै गाउँमा आरनकै काम गर्नुहुन्छ । उहाँहरुको पुख्र्यौली थलो ढोरपाटन नगरपालिका–६ अधिकारीचौर हो ।

बडिगाड गाउँपालिकामा पहिलोपटक आयोजना गरिएको ‘बडिगाड महोत्सव तथा पौँदी न्वागी मेला’मा घरेलु तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महोत्सव यही मङ्सिर ९ गतेसम्म चल्नेछ । रासस

Loading...
प्रकाशित मिति २ मंसिर २०७५, आईतवार १२:४२