गन्तव्य स्याङजा: यस्तो बन्दैछ ‘भालुपहाड’

पोखराबाट सिद्धार्थ राजमार्गमा देखिन्छ घुम्ती र चट्टाने पहरोसहितको छाँगो। चट्टान फुटाएर बनेको राजमार्गको बीचबाट गुडिरहँदा तल र माथि हेर्ने हो भने कहालीलाग्दो छाँगो र भिर देखिन्छ। अनि पारिपट्टि सानो टापु आकारको भौगोलिक अवस्थाको स्थान।

आउजाउ गर्नेलाई त्यो ठाउँ जति डरलाग्दो छ, नाम पनि उतिकै डरलाग्दो–भालुपहाड। हो, त्यही भालुपहाडलाई पर्यटकीय गन्तव्य बनाउने तयारीमा अहिले स्याङ्जाका स्थानीय तह लागीपरेका छन् ।

पोखराबाट पाल्पा हुँदै लुम्बिनी र लुम्बिनीबाट पाल्पा हुँदै पोखरा आउजाउ गर्नेले अहिले केहीबेर सुस्ताउने ठाउँ मात्र बनेको छ भालुपहाड । तर, अब भने पर्यटकलाई घन्टौं समय बिताउने गरी पूर्वाधार बनाएर बसाइँ अवधि बढाउने लक्ष्यका साथ पूर्वाधार बनाउने तयारी भएको छ ।

२०१७ सालमा सिद्धार्थ राजमार्ग निर्माणसँगै त्यसवरिपरिका धेरै जंगल र पहराको संरचना हराए । निर्माणसँगै भालु लगायत जंगली जनावर विस्थापित भए । भारतीयले राजमार्ग निर्माण गर्ने क्रममा भालुपहरामा भालुपहाड नामले संकेत दिए । पछि भालुपहरा भालुपहाडका रूपमा परिचित हुन थाल्यो।

सडकछेउको प्रतिक्षालय र चुचुरोमा पुगेर केहीबेर चिसो हावासँग स्पर्श गर्ने र सिजनको बेला पिकनिक खाने बाहेक अहिलेसम्म भालुपहाडले आउजाउ गर्ने पर्यटकलाई तान्न सकेको छैन । अब पूर्वाधार बनाएर पाहुनालाई केहीबेर अड्याउनेदेखि आसपासका गाउँमा होमस्टे खोलेर गाउँसम्म पु¥याउने प्रयास पनि योजनामा छ । राजमार्ग हुँदै आउजाउ गर्ने पर्यटकलाई रोक्ने नै यो योजनाको मुख्य लक्ष्य रहेको छ । हिउँदमा उत्तरतिर हेर्दा टलक्क टल्केका हिमाल देखिने ठाउँसमेत भएकाले यसलाई बहुरूपी तरिकाले पर्यटकीय गन्तव्य बनाउन सकिने स्थानीयतहका पदाधिकारीको भनाइ छ । हेपिएको भालुपहाड अब साँच्चै आकर्षक पर्यटकीय गन्तव्य बन्ने उनीहरूको योजना छ ।

यसकै लागि फेदिखोला गाउँपालिकाले भालुपहाडलाई पर्यटकीय केन्द्र बनाउने गुरुयोजना निर्माण गरेको छ । करिब १० रोपनी जग्गामा ४५ करोड रुपैयाँको लागतमा निर्माण हुने भालुपहाड पर्यटकीय गुरुयोजना सार्वजनिक गरेको छ । भालुपहाड पुतलीबजार नगरपालिका–४ र फेदिखोला गाउँपालिका–२ को सिमानामा पर्दछ । सिद्धार्थ राजमार्ग भालुपहाड हुँदै गएको छ । गाउँपालिकाले पर्यटकीय गन्तव्य बनाउने महत्वाकांक्षी योजना बनाएको छ ।

विश्वमै प्रसिद्घ धार्मिकस्थल लुम्बिनी, मुक्तिनाथ र पर्यटकीय राजधानी पोखरा जाने सिद्धार्थ राजमार्गसँगै भालुपहाड जोडिएको छ । पोखरादेखि करिब २८ र वालिङ देखि ४५ किलोमिटर दूरीमा भालुपहाड रहेको छ । पाल्पा तानसेनदेखि एक सय र लुम्बिनीदेखि एक सय ४० किलोमिटरमा पर्दछ।

Loading...
प्रकाशित मिति ५ मंसिर २०७५, बुधबार ०३:३४