प्रचण्डलाई चितवनमा स्थानीयले गरे खुकुरी आक्रमण

पूर्वप्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहीबार बिहान चितवनको कृष्ण चोकमा स्थानीयले खुकुरी आक्रमण गरेका छन् । खुकुरीसहित पुगेका स्थानीयले उनलाई ‘मार्ने’ धम्की दिएको समाचार छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २३ स्थित कृष्णचोक नजिक मधुपुरीमा आयोजित स्थानीय पार्टी प्रवेश गर्ने कार्यक्रम चलिरहेको बेला आक्रोशित स्थानीय प्रचण्डमाथि आक्रमण गर्न खुँडा बोकेर मञ्चतर्फ अघि बढेका थिए । तर सुरक्षार्थ खटिएका सुरक्षा टोलीले उनलाई आक्रमण हुनबाट जोगाएका छन् ।

प्राप्त समाचार अनुसार बिहान ९ बजेतिर भएको उक्त कार्यक्रममा प्रचण्ड उपस्थित भएको केही समयमै आक्रोशित स्थानीयको एक समूहमा घरेलु हतियार खुकुरीसहित कार्यक्रमस्थल जम्मा भएका थिए । आक्रोशित समूहबीचबाट एकजना हातमा नांगो खुकुरी लिई प्रचण्डलाई गाली गर्दै अगाडि बढेर आक्रमण गरेका थिए । तर त्यस आक्रमणलाई सुरक्षाकर्मीले रोके ।

समाचारमा जनाइएअनुसार आक्रमणपछि उपस्थित प्रचण्ड पक्षधरले उनको हातबाट खुकुरी खोसे र नियन्त्रणमा नलिई कार्यक्रमस्थलबाहिर निकाले । त्यसपछि पनि ती व्यक्तिले आक्रोशित भावमा चिच्याउँदै प्रचण्डलाई अपशब्दमा गालीगलौज गरिरहे । र, ‘मारिदिने’ धम्की दिइरहे । पुनः आक्रमण गर्न झम्टिरहे ।

आक्रमण गर्ने व्यक्ति प्रचण्ड नेतृत्वकै स्थानीय रिमाल थरका युवा भएको खुलेको छ । उनले प्रचण्डलाई ‘जनमुक्ति सेना बुझाएर पैसा खाएको, जनयुद्धको उद्देश्यलाई कुल्चेको र देश र जनतामाथि गद्दार गरेको’भन्दै तिखो शब्दमा गाली गरेका थिए।

रिमाल जनयुद्धमा सक्रिय र इमान्दार कार्यकर्ता भएको बुझिएको छ । अध्यक्ष प्रचण्डले जनयुद्धका एजेण्डा र उद्देश्यमाथि धोका दिएको भन्दै चौतर्फी आलोचना गर्दै खनिइरहेको समयबीच चितवनको कृष्णचोकमा यो घटना भएको हो ।

यसअघि एकीकृत नेकपा (माओवादी)का अध्यक्ष रहेका बेला ६ वर्ष अघि पार्टीले दीपावलीको अवसर पारेर भृकुटीमण्डपमा आयोजना गरेको चियापान कार्यक्रममा हात मिलाउने मौका पारेर युवा पदम कुवँरले प्रचण्डलाई गालामा झापड हानेका थिए ।

Loading...
प्रकाशित मिति ६ मंसिर २०७५, बिहीबार १०:५५