राष्ट्रपति करोडका गाडी नचढेर के साइकल चढ्नु पर्ने हो ? : मन्त्री बास्कोटा

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी राष्ट्रपति र उपराष्ट्रपतिलाई अनावश्यक विवादमा तान्न खोजेको भन्दै सरकारको बचाउ गरेका छन्।

पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बास्कोटाले भने, ‘राष्ट्रपति र उपराष्ट्रपतिलाई अनावश्यक विवादमा तानियो। के राष्ट्रपति अब साइकल नै चढ्नु पर्ने हो त?

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी किन्न लागेपछि यस विषयमा चारैतिर तीव्र आलोचना भईरहेको छ।

यो विषय राष्ट्रपतिको सुरक्षाको विषयसमेत भएको तर्क गर्दै सञ्चारमन्त्रीले गणतन्त्रलाई कमजोर बनाउन यस्तो आलोचना भएको तर्क गरे। ‘उहाँको सुरक्षा कसले गर्ने? राष्ट्रपति र उपराष्ट्रपतिले यो चाहियो उ चाहियो भनेर भन्नुभएको छैन। मौका यही हो भनेर लोकतान्त्रिक गणतन्त्रलाई नचाहनेले लोकतन्त्र र गणतन्त्रलाई कमजोर बनाउन नकारात्मक प्रचार गरे। यसलाई सरकारले नजिकबाट हेरिरहेको छ,’ बास्कोटाले भने।

उनले गाडी खरिदको विषय धेरै अगाडिको भएको उल्लेख गर्दै ‘गणतन्त्र स्थापनापछि राष्ट्रपति र उपराष्ट्रपतिको लागि गाडी खरिद भएको छैन। के उनीहरुलाई गाडी चाहिदैन? उनले प्रतिप्रश्न गरे ।

Loading...
प्रकाशित मिति ६ मंसिर २०७५, बिहीबार १३:४३