जहाज भित्रै यात्रुको मृत्यु, एअरलायन्सद्धारा अस्विकार

रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एअरको टुइनेटर जहाजमा सवार एक यात्रुको मृत्यु भएको छ। शनिबार दिउँसो साढे १२ बजे रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको नाइन एन एइटी कल साइनकलको उडान नम्बर ७१६ जहाजमा यात्रुको मृत्यु भएको हो।

मुगु सोरु गाँउपालिका-८ गिलाहाँ गाउँका अन्दाजी ३८ वर्षीय धीरबहादुर शाहीको जहाजमै मृत्यु भएको आफन्तले बताएका छन्।

यता तारा एयरलाइन्स नेपालगञ्ज स्टेसनका स्टेसन म्यानेजर सूर्यमणि सुवेदीले भने यात्रु जहाजभित्र अचेत भएको खबर आएपछि तत्काल उनलाई अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको बताएका छन्।

पोस्टमार्टमका लागि शव भेरी अस्पतालमा पुर्याइएको छ। आफन्तले भने यात्रु बिमा रकम नपाएसम्म शव नबुझ्ने बताएका छन्।

तारा एअरको उडानमा मुगुबाट मृतक शाहीसहित १३ यात्रु थिए। आफन्तले बिरामीको जहाज भित्र मृत्यु भएको बताए पनि तारा एयरले विमानस्थलबाट अस्पतालतर्फ लैजादै गर्दा मृत्यु भएको दाबी गरेको छ।

बिरामी मन्जुरीपत्रमा सहमति नगराई यात्रामा रहेका कुनै यात्रुको जहाज भित्र मृत्यु भएमा उडान भर्ने कम्पनीले यात्रुलाई बिमा र क्षतिपूर्ति दिनु पर्ने प्रावधान नागरिक उड्यन ऐनमा उल्लेख छ।

Loading...
प्रकाशित मिति ८ मंसिर २०७५, शनिबार १३:१२