सरकार ‘क्रिश्चियन धर्म प्रचार’ गर्न लागेको भन्दै काङ्ग्रेसको अापत्ती

नेपाली कांग्रेसले एक आइएनजीओको मातहत बसेर सरकारले ‘क्रिश्चियन धर्म प्रचार’का लागि सहआयोजक बसेर सम्मेलन गर्न लागेकोमा जवाफ मागेको छ।

कोरियाको युनिभर्सल पिस फेडरेसन (युपीएफ) ले मंसिर १४ गतेदेखि १७ गतेसम्म राजधानीको होटल हयात रिजेन्सीमा गर्ने ‘द एसिया प्यासिफिक समिट २०१८’ मा सरकार सहआयोजक बसेकोमा कांग्रेसले आपत्ति जनाएको बिश्वप्रकास शर्माले बताए ।

‘एउटा आइएनजीओ आयोजक छ। सरकार सहआयोजक हुने? प्रचारमा आएको छ, यो सम्मेलन निश्चित धर्म प्रचारका लागि गरिँदैछ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘हाम्रो संविधानमा देश धर्मनिरपेक्ष रहने उल्लेख छ। सरकार सहआयोजक बनेर संविधानको बर्खिलाप गर्ने?’

अन्यत्र मुलुकमा सरकारको मातहतमा आइएनजीओहरू चल्ने भए पनि नेपालमा आइएनजीओले सरकारलाई मातहतमा राखेर कार्यक्रम गर्न लागे पनि सरकार बेखबर रहेको शर्माको भनाइ छ।

सम्मेलनको आयोजक संस्था (युपीएफ) का नेपाल शाखा अध्यक्ष परिवार दलका अध्यक्षसमेत रहेका एकनाथ ढकाल हुन्।

‘नेपालमा हुने एउटा सम्मेलनको निम्तो बाँडिएको रहेछ। त्यसभित्र नेपाल र संसदको लोगोमाथि एउटा आइएनजीओ (युपीएफ)को लोगो छ,’ प्रवक्ता शर्माले भने, ‘चर्चामा आए अनुसार निश्चित कुनै धर्म प्रचारका लागि यो सम्मेलन हुँदै गरेको भनिएको छ।’

सम्मेलन आयोजक संस्थाका सन्तोष पौडेल र जीन श्रेष्ठले सम्मेलनमा के-के कार्यक्रम हुँदैछन्? प्रश्नको जवाफ दिन आनकान गरे। उक्त सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुने आयोजकले तय गरिसकेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले कांग्रेसले आरोप लगाएजस्तो कुनै एक धर्म प्रचारका लागि प्रधानमन्त्री कार्यक्रममा जाने कुरा साँचो नभएको बताए।

Loading...
प्रकाशित मिति ९ मंसिर २०७५, आईतवार ०४:१४