सिटामोल समेत पाएनौं, छिटो उद्धार गरिदेऊ – कुवेतबाट नेपाली चेलीहरुको चित्कार (भिडियो)

खाडी मुलुक कुवेतमा आममाफी पाएर नेपाल फर्किन अनुमति कुरिरहेका नेपालीले आफूहरू बिरामी पर्न थालेको बताएका छन् । क्वारेन्टाइन बनाइएका क्याम्पमा बसेर करिब दुई हप्तादेखि घर फर्किने अनुमति कुरेर बसेका उनीहरूले छिटो उद्धारका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् ।

क्याम्पभित्रको व्यवस्थापनबारे नबोल्न भनिए पनि बिरामी हुनेक्रम बढ्दै गएपछि ती महिलाहरूले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् । अबको दुई हप्तामा नेपाल नफर्काए कुवेतको क्वारेन्टाइनमै मर्नुपर्ने अवस्था आउने उनीहरूले बताएका छन् ।

‘चिसो भुइँमा सुत्छौं, एसीको चिसोमा खाना पनि चिसो खुवाउँछ,’ उनीहरूले भनेका छन्, ‘केही दिनमै नेपाल लैजाने भनेर कागजपत्र बनाइदिएका नेपाली दूतावासका अधिकारीहरू अहिले फोन उठाउँदैन्, उठाउनेले म दूतावासको मान्छे होइन भन्छन् ।’

करिब चार सय नेपाली रहेको क्याम्पको एउटै कोठामा १७ जना कोचिएर बसेको उनीहरूले भिडियोमा बताएका छन् । ज्वरो आउँदा सिटामोल नपाएको, शौचालय निकै असुरक्षित रुपमा प्रयोग गर्नुपरेको उनीहरूको गुनासो छ ।

आफूहरूलाई कि नेपाली नागरिक नै होइन भन्नुप¥यो, नभए यसरी बेवास्ता गर्न नमिल्ने उनीहरूको भनाइ छ । ‘यहाँ हामीलाई भेँडाबाख्रा जसरी राखिएको छ । घाममा निस्कन पनि दिएका छैनन्’, उनीहरूले भनेका छन्, ‘हाम्रो घर–घरमा भोट माग्न जानेहरू हामी अप्ठ्यारोमा परेको बेला किन मुन्टो अन्तै फर्काउँदैछन् ?’

क्याम्पमा रहेका इथियोपियन, फिलिपिनो र बंगलादेशीहरूलाई सम्बन्धित देशले लैजान सुरु गरिसकेको भन्दै उनीहरूले नेपाल सरकारले पनि छिटो उद्धार थाल्नुपर्ने माग गरेका छन् ।

तीन हजारको बिजोग– अहिले कुवेतमा करिब तीन हजार नेपाली यसैगरी क्वारेन्टाइनमा बसेका छन् । गत अप्रिल २६ देखि आममाफी प्रक्रियामा सहभागी उनीहरू घर फर्किने ‘लगेज’ बोकेरै विभिन्न आश्रयस्थल (क्वारेन्टाइन)मा पुगेका हुन् ।

कुवेत सरकारले आममाफी दिएका कामदारहरूलाई विद्यालय, कलेज, खेल मैदान र सार्वजनिक भवनहरूमा राखेको छ । कुवेतले अप्रिल २६ देखि ३० सम्म आममाफीका लागि आवेदन गर्नसक्ने समय तोकेको थियो । (अनलाइनखबरबाट)

Loading...
प्रकाशित मिति १० जेष्ठ २०७७, शनिबार २१:०२