लकडाउनमा बालबालिकालाई व्यावहारिक ज्ञान सिकाउन शिक्षाविदको सुझाब

काठमाडौँ । कोरोना भाइरस रोकथामका लागि गत चैत ११ देखि गरिएको लकडाउनका कारण शैक्षिक संस्थाहरू बन्द छन् । भाइरस संक्रमणको दर बढिरहेको छ । लकडाउन कहिले खुल्छ र विद्यालयमा कहिले पढाइ सुरु हुन्छ भन्ने टुंगो छैन ।

विद्यलाय बन्द हुँदा अभिभावकलाई आफ्ना बालबालिका घरभित्र राख्न हम्मे परेको छ । बालबालिकाहरू घरबाहिर निस्कन नपाएर हैरान छन् ।

गत शैक्षिक वर्षको वार्षिक परीक्षा दिएर छुट्टीमा बसेको दुई महिना बितिसकेको छ । अहिले शहरका कतिपय निजी विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन् । सुरुमा अनलाइन कक्षामा विद्यार्थी जम्मा गर्न मुश्किल परे पनि बिस्तारै प्रभावकारी बन्दै गएको प्याब्सनका सहअध्यक्ष डिके ढुंगाना बताउँछन् ।

उनकाअनुसार अहिले अनलाइन कक्षामा करिब ६० प्रतिशत बालबालिका उपस्थित हुने गरेका छन् ।

व्यावहारिक ज्ञान सिक्दै बालबालिका

कोरोना भाइरस सक्रमणको त्रासबाट भुलाउन अभिभावकले बालबालिकालाई घरमा व्यावहारिक काम सिकाइरहेका छन् ।

त्यसो त भनाइ नै छ– बालबालिकाको शिक्षा घरबाट सुरु हुन्छ र अभिभावक नै प्रथम शिक्षक हुन् ।

बिहान सबेरैदेखि दिनभर विद्यालयमा पढ्ने र राति गृहकार्य गरेर व्यस्त हुने बालबालिका अहिले घरमै जीवन उपयोगी कुरा सिकिरहेका छन् ।

ग्रामीण तथा शहरी क्षेत्रका बालबालिकालाई अभिभावकहरूले घरायसी काम सिकाइरहेका छन् । बालबालिकाहरू खेतबारीको काम गर्ने, तरकारी रोप्ने, खाना बनाउने, बगैँचामा फूल रोप्ने र गोडमेल गर्नेजस्ता काम सिक्दैछन् ।

शुक्रबार काडमाडौंको नायणटारस्थित एएटा खाली जग्गामा केही बालकहरू कुटोले माटो खनिरहेका थिए । उनीहरू बोरामा माटो ओसारिरहेका थिए । घरको कौसीमा फूल रोप्न माटो ओासरोको एक बालकले बताए ।

‘हामीले युट्युबबाट सिकेर कौसीमा बगैँचा बनाएका छौँ,’ माटो खन्दै गरेका एक बालकले भने, ‘यो माटोमा रोपेपछि फूल राम्रो फुल्छ ।’

घरमा बाबाआमालाई काम सघाउने गरेको र बिहान, बेलुका खेलेर लकडाउन बिताइरहेको उनले सुनाए । ‘हामीले किताब किन्न पाएका छैनौँ,’ अर्का एक बालकले भने, ‘घरमा बाबाआमाले नयाँ कुराहरु सिकाइरहनु भएको छ, पढ्न चाहिँ पाइएको छैन ।’

रचनात्मक काम सिकाऔँ : शिक्षाविद्

टेलिभिजन हेर्ने, रेडियो सुन्ने, युट्युब हेर्ने लगायत काम घरमै बसेर गर्न सकिन्छ । जसबाट बालबालिकाले आफूलाई केही राम्रो कुरा सिक्नमा संलग्न बनाइरहेका हुन्छन् ।

बालबालिकालाई भुलाउन मात्र नभई जोड्न पनि सकिने बताउँछन् शिक्षाविद् विद्यानाथ कोइराला । बालबालिकाको उमेर समूह हेरेर विभिन्न रचनात्मक र व्यावहारिक काम सिकाउन सकिने उनले बताए ।

अहिले बारीदेखि घरको कौसी पनि हरिया बनेका छन् । बालबालिकालाइए फर्सी, घिरौँला मकै लगायतका विरुवाबारे सिकाउन सकिन्छ । यिनीहरूका पातमा के के फरक छ भनेर सोध्न सकिन्छ ।

बालबालिका ती विरुवाको पात खोज्न जान्छन् र घरमा ल्याएर फरक छुट्याउँदै तस्वीर कोर्न थाल्छन् । फलस्वरूप बालबालिकामा पढ्ने, लेख्ने र अनुगमन गर्ने बानी विकास हुँदै जान्छ । विद्यालय खुलेपछि कक्षाकोठामा विज्ञान बढाउने शिक्षकले तिनै विरुवाको बारेमा पढाउँदा उनीहरूले प्रष्ट भन्न सक्छन् ।

यसरी अभिभावकले रचनात्मक काम सिकाएमा अहिले सिकेको कुरा विद्यालय खुलेपछि काम लाग्ने कोराइलाको भनाइ छ । जुनसुकै तहका बालबालिकालाई पनि यस्ता रचनात्मक ज्ञान काम लाग्छ । कोइराला भन्छन्, ‘शिक्षिकहरूले बालबालिकालाई सोध्नुपर्छ– तिमीहरूको बारीमा के के फल्छ, एक फग्ल्याँटा र दुई फग्ल्याँटा हुने छुट्याऊ ।’

यसरी बालबालिकाले एक दलीय र दुई दलीय विरुवा चिन्दछन् । फग्ल्याँटा हराए पनि बोट बढेर आउने रहेछ भनेर बुझ्न सक्छन् ।

विद्यार्थीहरूलाई व्यावहारिक तरिकाले सिकाउने क्षमता शिक्षकसँग हुन जरुरी रहेको कोइरालाको भनाइ छ । ‘अहिले शिक्षकसँग यो किसिमको क्षमता हुनु आवश्यक छ’ उनले भने, ‘शिक्षकसँग क्षमता हुनुपर्‍यो विषयवस्तु धेरै छन् ।’

त्यस्तै बालबालिकालाई कुनै समाचार सुनाएर वा भिडियो देखाएर त्यसबारे केही शब्द लेख्न लगाउन सकिन्छ । खेतबारीको काममा पनि उनीहरूलाई संलग्न गराउन सकिन्छ ।

‘झोलाभरि किताब बोकेर मात्र पढ्न र ज्ञान हासिल गर्न सकिन्छ भन्ने होइन,’ कोइराला भन्छन्, ‘सिर्जनात्मक, रचनात्मक, व्यावहारिक र जीवन उपयोगी कुराहरू अभिभावकले पनि सिकाउन सक्छन् ।’everestpati बाट

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Loading...
प्रकाशित मिति १० जेष्ठ २०७७, शनिबार २१:४४