वर्षा राउतको स्पष्टीकरण : ‘म राष्ट्रियताको लागि मर्न तयार छु, हाम्रो जमिन फिर्ता ल्याउनुपर्छ

काठमाडौं, ११ जेठ । चर्चित नायिका वर्षा राउतले राष्ट्रियताको विषयलाई लिएर आफूमाथि प्रश्न नगर्न आग्रह गरेकी छिन् । आज राति ९ः०० बजे प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नायिका राउतले यस्तो बताएकी हुन्।

नेपाल-भारत सिमा विवादको सम्बन्धमा नायिका राउतले हिजो (शनिबार) सामाजिक सञ्जाल फेशबुकमार्फत बोलेको विषयलाई लिएर उनी विवादमा मुछिएकी थिईन् । राउतले नेपाल भारत सम्बन्धमा देखिएको विवादलाई दुई देशका सञ्चारकर्मीहरुले उचालेर झगडा उत्पन्न गराएको बताएकी थिइन्। राउतले नेपाल र भारत दुवै देशका अधिकारीहरु टेबल टक गर्नुपर्नेमा दुई देशका पत्रकारहरु झगडिँदा आफूले भारतीय मित्रसँग फेस गर्न गाह्रो परिरहेको र भारतीय मित्रहरुलाई पनि आफूसँग फेश गर्न अप्ठ्यारो भएको बताएकी थिईन् । उनको उक्त टिप्पणीमाथि चौतर्फी आलोचना भएको थियो ।

यही सन्दर्भमा पत्रकार धमलाले राउतसँग विशेष कुराकानी गरेका छन् । अन्तर्वार्ताको क्रममा राउतले यो प्रकरणमा आफूले माफी मागिसकेको जनाईन् । उनले भनेकी छिन्,’मैले मार्फी माँगें । मैले बोल्दा शब्द चयन गर्न सकिँन् । म राष्ट्रियताको लागि मर्न तयार छु । रगत बगाउनपनि तयार छु । हाम्रो जमिन फिर्ता ल्याउनुपर्छ । नेपाली सञ्चारकर्मीहरुले एकदमै राम्रो काम गरेका छन् । म गाली होईन द्धिपक्षीय वार्ताद्धारा समस्या समाधान गर्नुपर्छ भन्ने पक्षमा छु ।’ उनले आफूलाई सामाजिक सञ्जालमार्फत देशद्रोही भनेकोमा चित्त दुखेको पनि गुनासो पोखिन् । उनले भनिन्,’म राष्ट्रघाती होइन । मोदीसँग जोडेर चर्चा गरिएको छ । मनिषाजीले राखेको अडानमा मेरो सहमत छ ।’

Loading...
प्रकाशित मिति ११ जेष्ठ २०७७, आईतवार १८:५६