वर्ष ५७ का जुँगेबहादुर कक्षा २ मा: एक हातमा लौरो, सँगै दुई नातिनी लिएर जान्छन् विद्यालय !

नारायण नगरपालिका–२ भैरवटोलका जयबहादुर सुनार ‘जुँगे’ ५७ वर्षको हुनुभयो । उहाँ आफ्नै वडामा रहेको श्री खड्ग आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययन गर्नुहुन्छ। बिहान सबेरै उठ्नुहुन्छ, अनि घरको जे काम छ सकाउनुहुन्छ् । जब ९ बज्छ उहाँ विद्यालय जानका लागि तयार हुनुहुन्छ । एक हातमा लौरो, एक हातमा कान्छो छोराको कान्छी छोरी अर्थात नातिनी, काँधमा झोला । अनि अर्की जेठी नातिनी पनि साथमा लिएर सँगै विद्यालयतर्फ लम्कनुहुन्छ । विद्यालय जाने समयमा आफ्नी श्रीमती धर्मालाई खाना पस्किन र पोसाक तयारी गर्दिन आग्रह गर्नुहुन्छ ।

श्रीमती धर्मा कहिलेकाहीँ भन्नुहुन्छ, “म’र्ने बेलामा हरियो काँक्रो ।” उमेर ढल्केका श्रीमान्को स्कूले जीवन देख्दा धर्मा अचम्म मान्नुहुन्छ । धर्मा कहिलेकाहीँ ठट्ठा गर्नुहुन्छ, “यो बूढाले कहिले पढाइलेखाइ गर्नुहोला र कहिले जागिर खानुहोला, उहाँ कसैको कुरा नसुनेर नियमित विद्यालयमा जानुहुन्छ ।” विद्यालयको पोसाकमा बिहान १० बजे नियमित राष्ट्रियगान र अभ्यासमा सहभागिता जनाउनुहुन्छ । रोचक त के छ भने उहाँ स्कूलमा पुग्ने बित्तिकै सम्पूर्ण विद्यार्थी र शिक्षकहरूले ‘बाजे नमस्ते !’ भन्दै अभिवादन गर्छन् । विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीले आदर–सम्मान गर्ने गर्दछन्, जयबहादुरलाई ।

सोही विद्यालयको व्यवस्थापन समितिको पूर्वसदस्य समेत रहनुभएका जयबहादुरको स्कूले जीवन देख्दा जो कोही पनि आश्चर्य मान्छन् तर उहाँलाई कसैको मतलब छैन, मतलब छ त पढाइ–लेखाइको । बिहान १० बजे नातिनीसँग विद्यालय जाने र बेलुकी ४ बजे घर फर्किने उहाँको दैनिकी बनेको छ अहिले ।

बेलुकाको खाना खाइसकेपछि जयबहादुरका कान्छा छोरा जनकले आफ्नी छोरीलाई भन्नुहुन्छ, “जाऊ बाजेले कस्तो लेख्नुभयो, चेक गरेर आऊ ।” अनि नातिनी बाजेको गृहकार्य चेक गर्न जान्छिन्, बाजेको कोठातिर । नातिनीसँगको दैनिकी र पढाइ–लेखाइ गर्न लागेको जयबहादुरको दुई वर्ष भयो । कक्षा १ मा उहाँ विद्यालयको नै प्रथम विद्यार्थी हुनुभयो २०७५ मा । अहिले पनि विद्यालयमा राम्रो विद्यार्थीका रूपमा चिनिनुहुन्छ् ।

आखिर उहाँलाई ढल्कँदो उमेरमा विद्यालय जाने आशा कसरी पलायोे त ! सबैको मनमा लाग्ने कुरा यही नै हो । जयबहादुर विगत लामो समयदेखि पिसाबसम्बन्धीको बिरामी हुनुहुन्छ । उहाँका भाइहरुले दुई वर्षपहिले उपचारका लागि नेपालगञ्ज नर्सिङ होममा लगे । “तीन घण्टा हराइयो”, उहाँ मुस्कुराउँदै भन्नुहुन्छ, “लेखेको कुरा पढ्न नजानेर महिलाको शौचालयमा गइयो, आफ्नो ‘बेड’ नं थाहा नपाएर अर्काको ‘बेडमा’ गइयो । डाक्टरहरु रिसाउनुभयो ।” उहाँलाई त्यहिबेला पढाइ–लेखाइ अमूल्य रहेछ भन्ने लागेछ। “त्यसैको झाँेकले भाइलाई विद्यालयमा नाम लेखाइदिन भनेँ, भाइले कक्षा १ मा नाम लेखाए र गत सालदेखि ‘खुरुखुरु’ स्कूल जान थालेँ”, उहाँले भन्नुभयो, “अहिले अङ्गेजी धेरै नआए पनि नाम लेख्नदेखि सबै नेपाली ‘खरर’ पढ्न सक्ने भएँ ।”

जयबहादुुरका मात्रै चार छोरा र तीन छोरी छन् । परिवारको ज्येष्ठ सदस्य उहाँका सात भाइमध्ये प्रायः कोही सरकारी जागिरे छन् भने कोही प्रहरी त कोही सामाजिक अभियानकर्मीका रूपमा सक्रिय छन् । जयबहादुरका माइला भाइ सन्तबहादुर सुनार अहिले रक्षा मन्त्रालयमा सहसचिव हुनुहुन्छ । उहाँको शिक्षित परिवार । जयबहादुरका सबै छोराछोरी पनि धेरथोर पढेलेखेकै छन् । आफू नपढ्ेकामा पुछुतो पनि थियो ।

“सानो छँदा गाईभैँसीको गोठाला र अलि ठूलो भएपछि कालापहाडमा (भारत) मजदूरी गर्न जाने गरियो । शिक्षाको महत्व नै बुझिएन”, उहाँ भन्नुहुन्छ, “नेपालगञ्जमा यस्तो घटना भएपछि थाहा भयो कि शिक्षाको महत्व कति रहेछ ।”

जयबहादुरलाई गाउँमा सबैले ‘जुँगे’ भनेर चिन्दा रहेछन् । उहाँ भन्नुहुन्छ, “सबैले प्रशंसा गर्छन् ।” जयबहादुरका भाइ जनक सुनार भन्नुहुन्छ, “दाजुको यो पढाइले समाजमा केही सन्देश प्रवाह गरेको छ । घरपरिवारको पहिचान बनेको छ ।”

खड्ग आधारभूत विद्यालयका प्रधानाध्यापक रमेश थापा भन्नुहुन्छ, “उहाँ हाम्रो अभिभावक हो । अहिले आएर विद्यार्थी बन्दा विद्यालय परिवारमा थप प्रेरणा थपिएको छ । बालबालिकाको भन्दा स्मरण शक्ति उहाँको कम छ तर पनि उहाँले हरेक कुराहरु सजिलै स्मरण गर्नुहुन्छ । विद्यालयको शोभा बढेको छ ।” सुनापति समाचार बाट

Loading...
प्रकाशित मिति १७ जेष्ठ २०७७, शनिबार २२:१९