ब्रह्मा, विष्णु र शिवको जन्म कोबाट भयो ?

हिन्दू धर्ममा ब्रह्मा, विष्णु र महेशको सम्बन्धमा सृष्टि स्थिति र लयसँग जोडेर मान्ने गरिएको पाइन्छ । उनीहरुलाई अजन्मा देवताको रुपमा मान्ने गर्छन् । उनीहरुको बाबु आमा नभएको भनेर पनि मान्ने गरिन्छ । तर, के यो सत्य हो ? के ब्रह्मा, विष्णु र महेशका बुबाआमा छैनन् ? वेदमा लेखिएको छ कि जो जन्म वा प्रकट हुन्छन्, ती ईश्वर हुन सक्दैनन् । परमेश्वर अजन्मा, अदृश्य र निराकार छन् ।

शिव पुराणका अनुसार, ब्रह्मा सत्य र अविकारी छन् । सुरुवाती समयमा ब्रह्माण्ड अन्धकारमय थियो । त्यतिबेला पानी थिएन, आगो थिएन, हावा थिएन । प्राचीन शास्त्रहरुले समेत ब्रह्मालाई सत् मानेका छन् । सत् अर्थात् अविनाशी । तिनै अविनाशी परब्रह्मलाई एक दिन एकभित्र धेरै हुने संकल्प उदित भयो । त्यतिबेला ती निराकार परमात्माले आफ्नो लीला शक्तिले आकारको कल्पना गरे ।

जो मूर्ति रहित परब्रह्म हुन् । परब्रह्मको अर्थ एकाक्षर ब्रह्म । परम अक्षरवाला ब्रह्म । उनै सर्वोच्च ब्रह्म भगवान सदाशिव हुन् भन्ने शास्त्रीय मान्यता छ । अर्वाचीन र पुरातन विद्वानहरु उनीहरुलाई नै ईश्वर भन्छन् । सदाशिवले जहिले जहिले स्वेच्छाबाट आफ्नो विग्रहको माध्यमले शक्तिको सिर्जना गरे । जुन उनको आफ्नै श्रीअंगबाट कहिल्यै अलग हुने खालको थिएन । सदाशिवको त्यो परम शक्तिलाई प्रधान प्रकृति, गुणवती माया, बुद्धि तत्वको जननी तथा र विकार रहित मान्ने गरिएको छ ।

त्यो शक्तिलाई अम्बिका पनि भनिन्छ (पार्वती वा सती होइन) । उनलाई प्रकृति, सर्वेश्वरी, त्रिदेवजननी (ब्रह्मा, विष्णु र महेशकी आमा), नित्य र मूल कारण पनि भनिन्छ । सदाशिवद्वारा प्रकट गरिएको सो शक्तिको ८ भुजाहरु छन् ।

सदाशिव एकाकीन भएर पनि माया शक्तिको संयोगले धेरै हुने गर्छन् । त्यही शक्तिकी देवीले नै लक्ष्मी, सावित्री र पार्वतीको रूपमा जन्म लिए । त्यो कालरुपी ब्रह्मा सदाशिवले उही समयको शक्तिले ’शिवलोका’ नामको क्षेत्र सिर्जना गर्‍यो । त्यो उत्तम क्षेत्रलाई काशी भनिन्छ । त्यसैलाई मुक्तिको ठाउँ मान्ने गरिन्छ । यहाँ शक्ति र शिव अर्थात् कालरुपी ब्रह्मा र दुर्गा यहाँ पति र पत्नीको रूपमा बस्छन् भन्ने मान्यता छ ।

को हुन् विष्णु ?

प्राचीन कालमा सूर्यको नाम नै विष्णु थियो । विष्णुको अलावा त्यतिबेला सूर्यलाई चिनाउन शक्र, अर्यमा, धाता, पूषा, सविता, मित्र, वरुण आदि नामले चिनिने गरेको विष्णु पुराणमा उल्लेख छ । विष्णु पुराणमा भनिएको छ :

तत्र विष्णुश्च शक्रश्च, जंज्ञाते पुनरेवच

अय्र्यमा चैव धाता च त्वष्टा पूषा तथैवच

महाभारतमा पनि परापूर्वकालमा सूर्यको नाम विष्णु नै थियो ।

‘वियद् विष्णुपदं वापी पुंस्याकाश विहायसी’ भनेर विष्णु पद आकाशको नाम हो समेत भनिएको छ ।

इरावती धेनुमती हि भूतं सूयवसिनी मनुष्ये दशास्या

व्यस्कभ्नारोदसी विष्णवेते दाधर्थ पृथिवीमभितोमयूखै:

अर्थात्, हे सूर्य, यस द्युलोक र भूलोकलाई समेत तपाईंले धारण राख्नु भएको छ । आफ्नो अनन्त किरणहरु अर्थात् आकर्षण शक्तिले पृथ्वीलाई चारै तर्फबाट धारण गर्नुभएको छ । यसमा मयूखै शब्दको प्रयोग गरिएको छ ।

हामीले अहिले भन्ने विष्णुमा जुन गुणहरु रहेको छ । ती कल्पित विष्णुमा पनि उस्तै किसिमको गुणहरुको चर्चा गरिएको छ । विष्णु दुई पूर्ण अक्षरको भिन्दाभिन्दै अर्थ लगाइए जसरी यसको दुई समस्त पदहरुमा समेत दुईदुई समस्त पद रहेको पाइन्छ । जस्तो सूपर्ण नाम सूर्यको किरणको हो । तर, गरुडको समेत नाम सुपर्ण हो ।

खेदि, किरण, गौ, रश्मि, अभिशव, दीधिदय:, गभस्ति, वन, उस्र, वशु, मरीचि, मयूख, सप्तऋषि, साध्य र सुपर्ण यी सूर्यका १५ वटा किरणहरुको नाम हो । यसैमा सुपर्णको समेत नाम उल्लेख छ । यसरी सूर्य र विष्णुको गुणमा धेरै समानता देखाइएको छ । सूर्यको र विष्णुको बाहन नै एकै भएकोले पनि सूर्यलाई नै विष्णु भनिएको मान्ने चलन छ ।

अर्कोतर्फ, अद्रि नामले सर्प र मेघलाई जनाउने गर्छ । यही अद्रिलाई एकातर्फ सूपर्ण सूर्यको किरणले मेघमार्फत् पानी खान्छ भने अर्को तर्फ सूपर्ण गरुडले पनि अद्रि नामको सर्पलाई खाने गर्छ । यसबाट पनि हामीले विष्णुलाई सूर्यसँग पर्यवसान गर्न सक्छौं । विष्णुलाई स्थितिकर्ता भन्ने गरिन्छ ।

विष्णुको क्षीर सागरको परिकल्पना

अम्बर, वियत्, व्योम, बर्हि, धन्क अन्तरिक्ष, आकाश, आप्, पृथ्वी, भू, स्वयम्भू, अध्वा, पुष्कर, सगर, समुद्र, अध्वर यी १६ नाम आकाशको नाम हो । यस समुद्र शब्द समेत विद्यमान हो । निघन्टु भाष्यमा ‘समुद्र’ शब्दको निरुक्तिलाई यसरी उल्लेख गरिएको छ ।

‘तत्र समुद्र इत्येतत् पार्थिवेन समुद्रेण सन्दिह्यते समुद्र: कस्मात् समुद्रवन्त्यस्मादाप:’

पृथ्वीमा जो जलसमूहको स्थान छ । त्यसलाई पनि समुद्र भनिन्छ । समुद्र शब्दको विग्रह गर्दा समुन्द्रवन्ति अस्मात् आप: अर्थात् जसबाट पानी द्रपीभूत भएर पृथ्वीमा झर्ने गर्छ। आकाशबाट नै जल पृथ्वीमा झर्ने गर्छ । त्यसैले पनि क्षीर सागरमा बस्ने भनिएका विष्णु सूर्य नै हुन् भन्न सकिन्छ। यसबाहेक अप् शब्द, सागर शब्द, शेष नाग, अनन्त, हरि, चतुर्भुज, अष्टभुज, दशभुज आदिले पनि यही विषयलाई जनाउने गर्छ ।

Loading...
प्रकाशित मिति १७ जेष्ठ २०७७, शनिबार २२:२३