लकडाउन खुकुलो बनाइँदै, निजी सवारी चल्न दिइने

काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाउँदै लाने तयारी गरेको छ । ३२ जेठसम्म लकडाउनको निर्णय आइसकेपनि मोडालिटी बनाइँदैछ जसमा अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी भएको छ ।विश्वस्त स्रोतका अनुसार अब निजी सवारी साधन चल्न दिइनेछ । त्यसका लागि निश्चित समय तोकेर निश्चित व्यक्ति मात्र कामको सिलसिलामा आवतजावत गर्न पाउनेछन् । दुई पाङ्ग्रेमा एक र चार पाङ्ग्रेमा दुईजना मात्र यात्रा गर्न सक्ने गरी खोल्ने तयारी भएको हो ।

यो मोडालिटी २० जेठबाट गर्ने कि १ असारबाट गर्ने टुंगो भने लगाइएको छैन । तर, आवतजावत कोरोना भाइरसको संक्रमण कम फैलिएका र जोखिम कम भएका क्षेत्रलाई मात्र गर्न दिइनेछ ।मोडालिटी अनुसार विभिन्न क्षेत्र तोकेर कोरोना भाइरसको कम या बढी जोखिम टुंगो लगाइनेछ । हिमाल, पहाड र तराईका जिल्लाहरुको कोरोना संक्रमण जोखिमको अवस्था हेरी लकडाउनमा आवतजावत गर्न दिने भएपनि कामबाहेक अनावश्यक पाइने छैन ।भारतसँगको सिमामा भने कडाई गरिनेछ । २० वटा नाकाबाट मात्र आवत जावत गर्न पाइनेछ ।तर, भारतबाट प्रवेश गरेपछि १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने हुन्छ । सिमानाकामा सेना परिचालन गरिनेछ ।

सेनाले नाकामा कोरोना रोकथामका लागि सहयोगी भुमिका निभाएर क्वारेन्टाइनको पनि व्यवस्थापन गर्नेछ ।१६ असारसम्म हवाई सेवा बन्द नै रहनेछ । विस्तारै आन्तरिक हवाई सेवा सञ्चालनमा ल्याइनेछ ।१ असारबाट शैक्षिक संघसंस्थाको पठनपाठन सुचारु हुनेछन् ।विद्यालय तथा शैक्षिक संस्थाले अनलाइन या दुरशिक्षा प्रणालीबाट पठनपाठन गराउनेछन् । खुल्ने भने छैनन् । शिक्षा मन्त्रालयले दुरशिक्षा या अनलाइन शिक्षाको निर्देशिका बनाइसकिएकाले पठनपाठन गराउन आव्हान गरिसकेको छ ।नयाँ मोडालिटी अनुसार सिनेमा हल, सपिङ मल, रेष्टुरेन्ट बारहरु भने जेठभर नै बन्द हुनेछन् । विस्तारै कोरोना भाइरसको शतर्कताका लागि नियमपूर्वक चल्न दिने मोडालिटी ल्याइने भएको छ ।रिपोर्टस नेपाल

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Loading...
प्रकाशित मिति १९ जेष्ठ २०७७, सोमबार ०५:१४