कोरोनाको कहरबीच भारतमा ‘सलह’को आतंक, नेपालमा पनि खतराको घण्टी !

एजेन्सी । कोरोनाको कहरबीच भारतमा विनाशकारी किरा सलहले आतंक मच्चिइएको छ । यतिखेर भारतको राजस्थान, गुजरात, उत्तर प्रदेश, मध्य प्रदेश हुँदै अहिले महाराष्ट्रमा समेत सलहको प्रकोप देखिएको छ ।

गत सोमबारबाट आक्रमण सुरु गरेको सलहले अहिले महाराष्ट्रलाई नै केन्द्र बनाएर आक्रमण गरिरहेको भारतीय मिडियाहरूले जनाएका छन् । सलहका कारण अहिले सो क्षेत्रका कृषकहरु आक्रान्त बनिरहेको र उक्त किराको नियन्त्रणका लागि राज्य सरकार नै लागि परेको मुम्बईस्थित चर्चित अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ ।

हाल सलह प्रभावित क्षेत्रहरुमा खाद्यान्न बाली नभएकाले त्यति ठूलो क्षति नहुने तर फलफूल र तरकारीमा भने उच्च जोखिम रहेको सो क्षेत्रका राज्य सरकारले बताएका छन् । सलह नियन्त्रणका लागि विषादी छर्कन दमकलको समेत प्रयोग गरिएको समाचारमा उल्लेख छ ।

करिब २७ वर्षपछि फेरि एकपटक भारतमा सलहको आक्रमण देखिएको हो । राज्यको कृषि विभागका अनुसार सन् १९९३ मा यसै गरी सलहले भारतको महाराष्ट्रमा आक्रमण गरेको थियो ।

‘आक्रमण सोमबार बिहान काटोलबाट शुरु भयो । यद्यपी हामी मनसुनको नजिक छौँ । र यी क्षेत्रहरुमा जुन १० पछि मात्र लगाइने विरुवाहरु छन् । जसले गर्दा कृषि बालीहरुमा त्यति ठूलो क्षति हुने देखिँदैन । तर सुन्तला बगैँचा र तरकारीहरुमा भने यसको आक्रमणको खतरा छ । सलहका कारण ती बगैँचाहरुको सुन्तलाको उत्पादनमा करिब २५ प्रतिशतले घाटा हुने अनुमान गरेका छौँ ।’ नागपुर कृषि डिभिजन कार्यालयका संयोजक रविन्द्र भोसलेको भनाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले भनेको छ ।

हाल नागपुरका दक्षिणी क्षेत्रका ग्रामीण कृषि फार्महरुको सयौँ हेक्टरमा लगाइएको फलफूल तथा तरकारी बन्दागोवी, चिप्ले भेण्टी, फूलगोवी ९काउली० लगायतका बालीहरु सलहको खतरामा परेका छन् ।

खतराको घण्टी नेपालमा पनि

भारतमा सलहको प्रवेश र आक्रमणसँगै नेपालमा पनि सो खतराको घण्टी बजिसकेको छ । तीन दिन भित्र नै ४–५ प्रदेशमा फैलिने गरी तीव्र आक्रमण सुरु गरेको सलहले छोटो दुरीमा रहेको छिमेकी मुलुक नेपालमा समेत प्रवेश गर्न सक्ने खतरा बढेको छ ।

सरदर एक दिनमा नै २५० किलोमिटर देखि ३०० किलोमिटर दूरीसम्म बेग गर्न सक्ने सलहले भारतदेखि नेपालमा सहजै प्रवेश गर्न सक्ने देखिएको छ । हावाको गतिसँगै आफ्नो यात्रा तय गर्ने सलहले मौसमी हावासँगै नेपाल प्रवेश गर्ने खतरा उच्च रहेको कीट विज्ञान महाशाखा, नार्कका वरिष्ठ वैज्ञानिक डा. सुनिल अर्याल बताउछन् ।

Loading...
प्रकाशित मिति १९ जेष्ठ २०७७, सोमबार १८:५६