मायाको डोरी बाँध्ने धरानको बुढासुब्बा मन्दिर

मायाको डोरी बाँध्ने धरानको बुढासुब्बा

भ्यालेन्टाईन डे कसरी मनाउँदै हुनुहुन्छ ? कोहि प्रेमजोडीसँग डेटिङ जाँदै होलान्, कोहि हातमा फुल र उपहार बोकेर प्रेमी प्रेमिकासँग प्रेम दर्साउँदै होलान् । बुढासुब्बा मन्दिर क्षेत्रमा भने भ्यालेन्टाईन डे मात्र होईन अरुबेला पनि मायाको डोरी बाँध्नेहरुको भीड लाग्छ । धरानको विजयपुर स्थित बुढासुब्बा मन्दिर धेरैका लागि धार्मिक स्थल होला तर युवापुस्ताका लागि यो धार्मिक भन्दा बढी मायाको डोरी बाँध्ने ठाउँ हो ।

बुढासुब्बा मन्दिर छेउमा बाँस झ्याङ छ । अधिकांश बाँसका टुप्पा छैनन् । शिकार खेल्दै त्यहाँ पुगेका बुढासुब्बाले आफ्नो गुलेली र मट्याङ्ग्रा त्यहिं छाडेर समाधी लिएको किंवदन्ती पाईन्छ । गुलेलीको बाँस भएकाले बुढासुब्बाका बाँसमा टुप्पा नभएको कथा पाईन्छ । त्यस अवसरको क्षेत्रमा ठूला मट्याङ्ग्राहरु भेटिने हुनाले पनि यस्ता किंवतन्दीलाई बल पुगेको छ । तिनै टुप्पा नभएका बाँसमा केही वर्षअघि सम्म मन्दिर पुग्ने युवायुवतिले आफ्ना प्रेमीका नाम खोप्ने चलन थियो ।बाँसमा नाम खोपिएको प्रेम अमर हुन्छ भन्ने विश्वास गरिन्थ्यो । बाँसमा नाम लेख्ने युवायुवतिको संख्या दिनानुदिन बढ्दै भयो । जथाभावि नाम खोप्दा बाँस सुक्ने र मर्ने क्रम सुरु भयो । त्यसपछि मन्दिर व्यवस्थापन समिति र स्थानीयले बाँसमा खोप्न बन्देज लगाएर बाँसको वरिपरी तार जालीले छेके । तर प्रेम गर्नेलाई कस्ले छेक्न सक्छ र । उनिहरुले नयाँ उपाय निकाले डोरी बाँध्ने । अहिले बुढासुब्बाका बाँस वरिपरि मन्दिरको प्रसादका रुपमा प्रयोग गरिने मालाका डोरी बाँधिन थाल्यो ।

केहि वर्षअघि बाट सुरु भयो डोरी बाँध्ने प्रचलन अहिले यति व्यापक भएको छ कि, बाँस झ्याङ वरिपरि रंगीचंगी डोरी नै न.डोरी देखिन्छ । डोरीले झपक्कै छोपेको छ बाँसको तल्लोभाग । बुढासुब्बा मन्दिर छेउका स्थानीयवासी लक्ष्मण श्रेष्ठ भन्छन् ‘बुढासुब्बा आउने युवायुवतिहरु प्रेमीका नाममा डोरी बाँध्दा आफ्नो प्रेम सफल हुन्छ भन्ने विश्वास गर्छन् । त्यसैले यहाँ आउने अधिकांश युवायुवति डोरी बाँधेर फर्किन्छन् ।’ मन्दिरको बाँस वरिपरि मायाको डोरी बाँधेपछि आफ्नो प्रेम सम्बन्ध दिगो हुने विश्वास गर्ने युवायुवति प्रसस्त भेटिन्छन् । त्यसैले त झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी लगायतका जिल्लाबाट समेत बुढासुब्बामा मायाको डोरी बाँध्न धेरै जना आईपुग्छन् । प्रेम जोडीहरु मन्दिरमा पुजा गरेर एकअर्कालाई माग्छन् अनि डोरी बाँधेर आफ्नो मायाको सम्बन्धपनि यस्तै कसिलो हुने विश्वास गर्छन् ।

भ्यालेन्टाईन डेको यो मौसममा त बुढासुब्बा वरिपरी प्रेम जोडीहरुको बाक्लै उपस्थिति देखिन्छ । बुढासुब्बासँगै विजयपुरको पञ्चकन्या, पिण्डेश्वर, तिनधारे, दुईधारे, दन्तकाली लगायतका ठाउँमा डेटिङमा रमाउनेहरु भेटिन्छन् । विजयपुरका वासिन्दा गोविन्द मैनाली भन्छन् ‘विजयपुर धर्म गर्नेका लागि र प्रेम गर्नेका लागि उत्तिकै प्रसिद्ध छ ।’

यो पनि पढ्नुहोस 

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Loading...
प्रकाशित मिति २१ जेष्ठ २०७७, बुधबार १९:००