‘म सेल्फ क्वारेन्टाइनमा छु, कोरोना परीक्षण नेगेटिभ आयो’ : मनिषा कोइराला

काठमाडौं । नायिका मनिषा कोइरालाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आमाबाबुसँग नेपाल आएकी कोइराला र उनका परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको कोइरालाले विभिन्न सञ्चारमाध्यमलाई जानकारी गराएकी छन् । नेपाल आएपछि कोरोना परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको उनले बताएकी छन् ।अभिनेत्री मनीषा कोइराला राजधानीको एक होटलमा १४ दिने क्वारेन्टिनमा बसेकी छिन् । स्थलमार्गबाट रूपन्देहीको बेलहिया नाका हुँदै मंगलबार नेपाल प्रवेश गरेकी उनी आमा र बुबासहित क्वारेन्टिनमा बसेकी छिन ।

नेपाली सेनाले स्कर्टिङ गरेर उनलाई राजधानी ल्याएको थियो । मुम्बईबाट गोरखपुर एयरपोर्टमा ओर्लिएलगत्तै बेलहिया नाकामा ज्वरो मापन गराएर उनी नेपाल प्रवेश गरेकी थिइन् । कोरोना भाइरस महामारीको जोखिम कम गर्न लकडाउन गरिएपछि उनी आमा र बुबासहित मुम्बईस्थित घरमा क्वारेन्टिनमा बसेकी थिइन् । यस अघि नेपालले जारी गरेको नयाँ नक्सालाई समर्थन गरेको भन्दै भारतीय मिडिया उनीविरुद्ध खनिएको थियो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तीन क्षेत्र समेटिएको नक्सा प्रकाशित गर्ने निर्णय गरेको ट्वीटलाई सामाजिक सञ्जाल ट्वीटरमा रिट्वीट गर्दै अभिनेत्री कोइरालाले लेखेकी थिइन्, ‘हाम्रो सानो राष्ट्रको गरिमा बनाइरहनु भएकोमा धन्यवाद ।

तीन राष्ट्रबीच शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा छलफल होस् भन्ने आशा गर्छौं ।’ उनको सो अभिव्यक्तिमा नेपाल र भारतको सीमा विवादमा नेपालको पक्ष लिएको भन्दै एबिपीले लेखेको थियो, ‘नेपालमा जन्मेकी अभिनेत्री मनीषा कोइरालाले नेपाल सरकारको समर्थन गरेकी छिन् । उनीहरूको सरकारले भारतको तीन क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको रहेको दाबी गरेको छ ।’लिम्पियाधुरासहित तीन सय ३५ वर्ग किलोमिटर भूमि समेटिएको नक्साको पक्ष लिएको भन्दै भारतीय मिडियाले अभिनेत्री कोइरालाको आलोचना गरेका थिए ।

भारतीय मिडियाले उनलाई चीनको पक्ष लिएको भनेर समेत लेखेका थिए । उनीहरूले अभिनेत्री कोइरालालाई ‘भारतको खाएर चीनको गाएको’ भन्ने आरोप लगाएका थिए । बलिउडलाई कर्मथलो बनाएकी अभिनेत्री कोइरालाको अभिव्यक्तिविरुद्ध भारतीय नागरिकहरू आक्रोशित भइरहँदा नेपालका सामाजिक सञ्जाल प्रयोगकर्ताहरू उनको पक्षमा उत्रिएका थिए ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Loading...
प्रकाशित मिति २३ जेष्ठ २०७७, शुक्रबार २१:३५