आइतबारदेखि लकडाउन केही खुकुलो बनाइने, खोकी र ज्वरो आएकालाई हवाइ यात्रा निषेध

काठमाडौं । भोली(आइतबार)देखि सरकारले लकडाउन खुकुलो बनाउने भएको छ ।

कोरोना रोकथाम तथा उच्चस्तरीय समन्वय समितिले लकडाउन खुकुलो बनाउने विषयमा मस्यौदा तयार पारेको छ ।

मस्यौदा अनुसार हालसम्म एकसय भन्दा कम संक्रमण देखिएका जिल्लाभित्र यातायात सुचारू गर्ने तयारी भएको छ ।

जसमा सिट संख्याको आधामात्रै बोक्न पाइने नियम बनाइएको छ । तर, असार १ पछि भने लामो दूरीको यातायात पनि खुलाउने तयारी गरिएको छ ।

लकडाउनको मोडालिटी परिवर्तन गर्ने सम्बन्धमा यसअघि प्रधामन्त्री विज्ञहरूसँग परामर्श गरेका थिए ।

गत चैत ११ गतेबाट जारी लकडाउनको पछिल्लो पटकको म्याद जेठ ३२ सम्म छ ।

यता, वायु सेवा उडानमा संलग्न कम्पनीका लागि नयाँ हवाई उडान मापदण्ड तयार गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले कोभिड १९ को समयमा यसको सङ्क्रमण रोक्नका लागि नयाँ मापदण्डमा निवार्य गरिएको छ ।

मापदण्डमा हवाई सेवा प्रयोग गर्दा यात्रुले अवलम्बन गर्नुपर्ने नियम तथा वायु सेवा सञ्चालक, विमानस्थल सञ्चालक र भूमिस्थ सेवा संलग्न कर्मचारीले पालन गर्नुपर्ने नियम तथा सुरक्षाका उपाय समेटिएको छ ।

मापदण्डअनुसार खोकी, ज्वरो, सास फेर्न समस्या भएको तथा स्वाद र गन्ध थाहा नपाउने अवस्थाका व्यक्तिलाई उडानमा पूर्ण रूपमा निषेध गरेको छ । यात्रुले वायु सेवा सञ्चालकले उपलब्ध गराउने फाराम भरेर आफू पूर्ण रूपमा स्वस्थ भएको स्वघोषणा गर्नुपर्ने छ ।

यात्राको क्रममा अनिवार्य मेडिकल मास्क लगाउनुपर्ने र यात्राभर आफूलाई आवश्यक मास्क आफैँ व्यवस्था गर्नुपर्नेसमेत उल्लेख गरिएको छ । त्यस्तै यात्रुले उडान जाँचदेखि लगेज लिने प्रक्रियासम्म कम्तीमा एक मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने मापदण्डमा जनाइएको छ ।

सेल्फ क्वारेन्टाइनमा बस्दा पालना गर्नुपर्ने १५ नियम

१. म पर्याप्त भेन्टिलेसन भएको कोठामा एक्लै बस्नेछु र यो सम्भव नभएमा छुट्टै ओछ्यानमा सुतिरहेको अर्को व्यक्तिसँग कम्तिमा १ मिटर दूरी राख्नेछु ।

२. म छट्टै वाथरूम र शौचालयको प्रयोग गर्नेछु र यदि यो सम्भव नभएमा प्रयोग गरेपछि बाथरूम र शौचालय आफै सफा गर्नेछु ।

३. म आफू बस्ने कोठा आफै सफा गर्नेछु ।

४. म घरभित्र साझा रूपमा प्रयोग हुने ठाउँहरू जस्तै भान्सा, शौचालयमा मेरो आवातजावतलाई सीमित गर्नेछु । यी साझा ठाउँहरूमा पर्याप्त भेन्टिलेसन भएको वा झ्याल खुला रहने सुनिश्चित गर्नेछु ।

५. म स्वास्थ्य संस्था जान बाहेक अन्य कामको लागि घर बाहिर जाँदिन । म काममा, विद्यालयमा वा सार्वजनिक क्षेत्रहरूमा जाँदिन र सार्वजनिक यातायातको प्रयोग गर्दिन ।

६. म नियमित रूपमा आफ्नो हात साबुन र पानीले मिची मिची २) सेकेन्डसम्म धुनेछु वा हात सफा राख्न अल्कोहलयुक्त हेन्ड सेनिटाइजर प्रयोग गर्नेछु । म हात नधोइ मेरा आँखा, नाक र मुख छुनबाट जोगिनेछु ।

७ मैले प्रयोग गर्ने गिलास,कप, खाना खान प्रयोग हुने भाडा, तौलीया रुमाल,ओछ्यान वा अन्य सामानहरू घरका अन्य व्यक्तिहरूसँग साझा प्रयोग गर्दिन । प्रयोग गरेपछि यी सामानहरू म साबुन र पानीले सफासँग धुनेछु ।

८. म अन्य व्यक्तिहरूसंग प्रत्यक्ष सम्पर्क गर्ने छैन ।

९. यदि अन्य व्यक्तिहरूसंगको सम्पर्कमा आउनु पर्दा म कम्तिमा १ मिटर (३ फिट) को दुरी राख्नेछु र म अर्को व्यक्तिसँग एउटै कोठामा हुँदा र स्वास्थ्य संस्था जाँदा मास्क लगाउनेछु ।

१०. खोक्दा वा हाच्छिउँ गर्दा म मेरो मुख र नाकलाई टिस्यु, रुमाल र कुहिनाले छोप्नेछु ।

११. म आफ्नो कोठाबाट प्रयोग गरिएको टिस्यु, रूमाल, मास्क र अन्य चीजहरू छुट्टै फोहोर फाल्ने ठाउँमा फाल्नेछु र फालेपछि तुरून्तै कम्तिमा २० सेकेन्डसम्मका लागि आफ्नो हात साबुन र पानीले मिची मिची धुनेछु । रूमाल वा पुन प्रयोग गर्ने कपडा साबुन र पानीले सफासँग धुनेछु र यसलाई घाममा राम्ररी सुकाएपछि मात्र प्रयोग गर्नेछु ।

१२. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त निर्देशनहरूको पालना गर्नेछु र आवश्यक सहयोगको लागि सधैं तयार रहनेछु ।

१३. म क्वारेन्टाइनमा रहँदा आफ्नो शरीरको तापक्रम दैनिक एक पटक जाँच्नेछु र दिइएको फाराममा रेकर्ड गर्नेछु । मलाई दिईएको निर्देशन अनुसार १४ दिनसम्म मेरो दैनिक स्वास्थ्य स्थिति बारे तोकिएको स्वास्थ्य निकायमा जानकारी दिनेछु ।

१४. कुनै पनि स्वास्थ्य समस्या देखिएको खण्डमा वा क्वारेन्टाइनमा बस्दा अन्य केही समस्याहरू भएमा तोकिएको स्वास्थ्य निकायवाट प्राप्त निर्देशनहरू अनुरूप गर्नेछु ।

१५. म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको पूर्व अनुमति बिना क्वारेन्टाइन स्थान भन्दा बाहिर यात्रा गर्ने छैन । आवश्यक भएमा यहाँ सम्पर्क गर्न सक्नु हुनेछ ।

Loading...
प्रकाशित मिति २४ जेष्ठ २०७७, शनिबार २१:३०