सरिता गिरीलाई पुनः स्पष्टीकरण सोध्ने समाजवादी पार्टी पदाधिकारी बैठकको निर्णय

काठमाडौं- समाजवादी पार्टीको पदाधिकारी बैठकले प्रतिनिधि सभा सांसद सरिता गिरीलाई पुनः स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। समाजवादी पार्टीको संसदीय दलको ह्वीप उल्लंघन गरेपछि सोमबार बसेको पदाधिकारी बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

‘हामीले संविधान संशोधनको पक्षमा मतदान गर्न दलको बैठक बसेर ह्वीप नै जारी गरेका थियौं।’ समाववादी पार्टीका प्रचार विभाग प्रमुख प्रशान्त सिहले भने, ‘उहाँ(सरिता गिरी)ले संसदीय दलको ह्वीपलाई उल्लंघन गर्नुभयो। सोमबार बसेको पार्टीको पदाधिकारी बैठकले फेरि लिखित स्पष्टीकरण दिन निर्देशन दिएको छ।’

सरिता गिरीले स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नदिए सांसद र पार्टी दुवैबाट कारवाही गरिने सिंहले बताए। तर सांसद सरिता गिरीले आफूलाई स्पष्टीकरण सोधेको विषयमा आफूलाई जानकारी नभएको बताइन्। ‘मलाई पार्टीले स्पष्टीकरण सोध्ने विषयमा आधिकारिक जानकारी छैन’ गिरीले नेपाल लाइभसँग कुरा गर्दै भनिन्‚ ‘पार्टीले सोधेको स्पष्टीकरणको पत्र आओस् त्यसको जवाफ दिन्छु। त्यसपछि मात्रै आफ्नो कुरा सार्वजनिक गर्छु।’ पार्टीको स्पष्टीकरण पत्र नआउँदासम्म कुनै प्रक्रिया नदिने गिरीले बताइन्।

गत जेठ ३१ गते सरकारले दर्ता गराएको संविधान संशोधनको विधेयक माथिको मतदान गर्ने क्रममा गिरीले मतदान नगरी संसद भवनबाट बाहिरिएकी थिइन्। सरकारले कालापानी, लिपुलेक तथा लिम्पियाधुरालगायत क्षेत्रलाई समेटेर निशान छाप संशोधन गर्न संविधान संशोधन दोस्रो विधेयक दर्ता गराएको थियो।

लगत्तै गिरीले संविधान संशोधनविरुद्धको प्रस्ताव दर्ता गराएकी थिइन्। गिरीले प्रस्ताव दर्ता गराएपछि समाजवादी पार्टीले गिरीलाई लिखित स्पष्टीकरण नै सोधेको थियो। गिरी प्रतिनिधि सभा समानुपातिक सांसद हुन्।

Loading...
प्रकाशित मिति ८ असार २०७७, सोमबार १८:०३