कोरोनाका कारण काठमाडौंको बानेश्वरमा एक जनाको निधन, शुक्रवार थपिए ७४० जना संक्रमित

काठमाडौं, १९ असार । कोरोनका कारण काठमाडौंमा शुक्रवार एक जनाको निधन भएको छ । निधन भएका ब्यक्ति काठमाडौंको बानेश्वरका बृद्ध भएको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा निधन भएको हो ।

उच्च रक्तचाप र पार्किन्सनको बिरामी वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए । अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको संख्या ३२ पुगेको छ । नेपालमा एकै दिन शुक्रबार ७४० जना कोरोना संक्रमित थपिएका छन् । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा ७४० जनामा कोरोना पुष्टि भएको जनाएका छन् । मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा थप ७४० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

४ हजार ४ सय ८४ जनाको नमूना परीक्षणमा ७४० जनाको रिपोर्ट आएकोमा ७४० जनाको रिपोर्ट पोजिटिभ आएको प्रवक्ता गौतमले बताए। त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ८२३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।

योसँगै नेपालमा कोरोनामुक्त भएर घर फर्कनेको संख्या ६ हजार १ सय ४३ पुगेको प्रवक्ता गौतमले जानकारी दिए। गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा ४ जिल्लामा कोरोना संक्रमितको संख्या बढेको हो ।

शुक्रबार कोरोना पुष्टि हुनेमा १९ जना नवलपरासीका छन् । कावासोती नगरपालिकाका २२ देखि ४९ वर्ष उमेर समूहका ११ जना पुरुषमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सोही नगरपालिकाकै २३, २६ र ४० वर्षका ३ जना महिलामा पनि कोरोना भेटिएको छ ।

नवलपरासीकै मध्यविन्दु नगरपालिकाका १० देखि ३३ वर्ष उमेर समूहका ४ जना पुरुष र ३० वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको छ । उनीहरु सबैको चिवतनमा परीक्षण गरिएको थियो ।

त्यस्तै, तनहुँमा शुक्रबार ९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग प्रयोगशालामा गरिएको परीक्षण अनुसार तनहुँको भिमाद र ऋषिङ गाउँपालिकामा कोरोना संक्रमितको संख्या थपिएको हो ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ भिमाद नगरपालिकाका २२ र २४ वर्षको २ जना पुरुषमा कोरोना देखिएको छ । ऋषिङ गाउँपालिकाको २३ देखि ४७ वर्ष उमेर समूहका ७ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पर्वतको बिहादी, पैयूँ र फलेबास नगरपालिकामा २९, १८ र ३४ वर्षका ३ पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको छ । त्यस्तै बागलुङको जैमिनी नगरपालिकामा पनि २१ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

संक्रमितहरु सम्बन्धित स्थानीय तहको क्वारेन्टिनमा रहेको र जिल्लाको आइसोलेसनमा ल्याउने तयारी भइरहेको डा शर्माले जनाए । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार ६३ पुगेको छ ।

 

Loading...
प्रकाशित मिति १९ असार २०७७, शुक्रबार १२:२३