भक्तपुरमा भर्खरै खनेको इनारमा निस्कियो ग्याँस, ४२ वर्षीया जमुना राई जलेर घाइते

भक्तपुर – चाँगुनारायण नगरपालिका–२ हिन्दुनगरमा आज बिहान इनारमा पूजा गर्ने क्रममा ४२ वर्षीया जमुना राई जलेर घाइते हुनुभएको छ । भर्खरै खनेको इनारमा पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ इनारबाट निस्केको ग्यासहितको आगोको लप्काले उहाँको अनुहारसहित केही भाग जलेको हो । उहाँको सुष्मा मेमोरियल अस्पताल साँखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उदयपुर स्थायी घर भएकी उहाँले केही समयअघि मात्र त्यहाँ घर खरिद गरी कमाउण्डमा इनार खन्नुभएको थियो । इनारमा अहिले पनि ग्यासको प्रवाह निरन्तर भइरहेको छ । सलाइ कोर्नासाथ ठूलो आवाजसहित इनारको ढकनी नै उछिट्याएर ग्याससहित आगो लप्का निस्किएको थियो । सो वडाअध्यक्ष शिवहरि केसी र प्रहरी टोलीले घटनास्थल पुगेर घटनाका बारेमा जानकारी लिएका थिए ।

यो पनि : प्रलोभनमा नपर्न सर्वसाधारणसँग अनुरोध

महानगरीय अपराध महाशाखाले विभिन्न सामाजिक सञ्जालमार्फत मोबाइल, घडी तथा अन्य महङ्गो सामान सस्तोमा बिक्रीमा छ भनी विज्ञापन गरेर पैसा खातामा जम्मा गर्न लगाउने गिरोह सक्रिय भएकाले प्रलोभनमा नपर्न अनुरोध गरेको छ ।

महाशाखाले सोमबार एक सूचना जारी गरी यस्ता गिरोहले ग्राहकलाई विभिन्न बैंक खाता उपलब्ध गराएर पैसा जम्मा गर्न लगाउने तथा आइएमई गर्न भन्ने र पैसा जम्मा भएपछि अर्डरअनुसारको सामान डेलीभरी नगरी ठगी गर्ने गरेको भन्दै सर्वसाधारणलाई सचेत गराएको हो ।

यस्ता केही व्यक्तिलाई अहिले पक्राउ गरी अनुसन्धान थालेको जानकारी दिँदै महाशाखाले बजार मूल्यभन्दा कम मूल्यमा सामान पाइने लोभमा नक्कली विज्ञापनको लोभमा नफस्न भनेको छ । महाशाखाका अनुसार यसरी लोभमा फँस्दा जग्गाजमीनसमेत धितो राखेर प्रलोभनमा परी पैसा दिएको पाइएको छ ।

 

Loading...
प्रकाशित मिति २३ असार २०७७, मंगलवार १०:५७