युवती प्रयोग गरेर ‘अन्तरङ्ग’ भिडियो: व्यवसायीसँग १ करोड डिमान्ड

युवती प्रयोग गरेर व्यवसायीलाई ब्लाकमेलिङ र एक्सर्टशन गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखा पालुङटारका ३१ वर्षीय वद्रीनाथ लामिछाने र पाँचथर हिलिहाङकी २५ वर्षीया इन्दिरा उप्रेती रहेका छन् ।
महिलालाई प्रयोग गरी ती व्यवसायीसँग अन्तरङ्ग भिडियो बनाएर पैसा असुल्न खोजेको उनीहरुमाथि आरोप छ ।

कुपण्डोल क्षेत्रमा बस्ने एक जना व्यवसायीलाई उनीहरुले ब्ल्याकमेलिङ गरेका थिए। इन्दिरा उप्रेतीले फेसबुकमा निशा अधिकारीको नामबाट तीन व्यापारीलाई फ्रेन्ड रिक्वेस्ट पठाएकी थिइन् । कुराकानीको क्रममा उनले व्यवसायीसँग मोबाइल नम्बरसमेत लिएकी थिइन् ।

पछि उप्रेतीले व्यवसायीलाई फोन गरी ‘तपाईंको अफिसमा भेट्न आउँछु, कुराकानी गर्नुछ’ भन्दै गत असार १ गते दिउँसो ‘निशा अधिकारी’ बनेर अफिसमा पुगेकी थिइन् ।

त्यसअघि नै उनले ती व्यवसायीले थाहा नपाउने गरी मोवाइलको भिडियो क्यामेरा अन गरी सोफामा राखेर त्यहाँ भएको सबै कुरा रेकर्ड गरेकी थिइन्। त्यसपछि व्यवसायीको नजिक हुँदै छेउमा गई अङ्गालो मारी चुम्बन समेत गरेर त्यहाँबाट निस्किईन् ।

उनी त्यहाँबाट गएपछि ‘गणेश लामा’ बताउने व्यक्तिले ती व्यवसायीलाई इमोबाट फोन गरी सो अन्तरङ्ग पलको भिडियो रेकर्ड आफूसँग रहेको भन्दै रकम माग गरेका थिए ।

प्रहरीका अनुसार एक करोड रुपैयाँ रकम नदिएमा युट्युब र फेसबुकमा अपलोड गरी वेइज्जत गरिदिन्छु भन्दै ती व्यक्तिले वार्गेनिङ गर्दै आइरहेका थिए ।

यस विषयमा प्रहरीलाई उजुरी दिएपछि अनुसन्धान गर्दा घटनामा वद्रीनाथ लामिछाने र इन्दिरा उप्रेतीको संलग्नता रहेको खुल्न आएको थियो । लामिछानेलाई कार्तिक ६ गते बेलुका गौशालाबाट पक्राउ गरिएको थियो भने उप्रेती आज दिउँसो टेकुबाट पक्राउ परिन् ।

दुवैमाथि अपराधिक कसूरमा अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुरमा पठाइएको छ ।

Loading...
प्रकाशित मिति ७ कार्तिक २०७५, बुधबार १३:११