गाउँपालिका अध्यक्षले प्रहरी नै कुटे, भन्छन् : एक झापड मात्र हानेको हूँ

अध्यक्ष खिमनारायण मानन्धरले प्रहरीमाथि नै हातपात गरेेेका छन् । हरिनासकै वडा नम्बर–६, दग्दीमा भएको भलिबल प्रतियोगितामा सामान्य विवाद हुँदा अध्यक्ष मानन्धरले प्रहरीमाथि हातपात गरेेेको प्रत्यक्षदर्शीले बताएका छन् ।

आक्रमणबाट दार्सिङ प्रहरी चौकीका प्रहरी जवान रामनारायण चौधरी घाइते भएका छन। क्याक्मी र दार्सिङका युवाहरुबीच भएको खेलका क्रममा विवाद उत्पन्न भएको थियो । त्यो विवादलाई रोक्न नसकेको भन्दै प्रहरीमाथि आक्रमण भएको हो ।

घटनाबारे छानबिन भैरहेको स्याङजाका प्रहरी प्रमुख जयराज सापकोटाले जानकारी दिए । उहाँले दुई पक्षको बीचमा विवाद साम्य पार्न खोज्दा प्रहरीमाथि नै ठेलमठेल भएको बताउनुभयो । प्रहरी प्रमुख सापकोटाले गाउँपालिका अध्यक्ष मानन्धरलाई प्रहरी चौकी बोलाइएको बताए ।

घाइतेको मेडिकल रिपोर्ट तथा घटनाबारे सबै विवरण पेस गर्न प्रहरीलाई निर्देशन दिएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताउनुभयो । उहाँले गाउँपालिकाका प्रमुख स्थानीय सरकार प्रमुखसमेत भएका भन्दै कानुन हातमा लिने काम कोही कसैबाट हुन नहुने स्पष्ट पारे ।

गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले प्रहरीमाथि एक झापड हानेको स्वीकार गर्नुभएको छ । उहाँले प्रहरी नै आक्रमणकारीको संरक्षणमा लागेकाले घटना हुन पुगेको आरोप लगाउनुभयो ।

मानन्धर तत्कालीन नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएकाे हाे।

Loading...
प्रकाशित मिति ७ कार्तिक २०७५, बुधबार १३:२८