‘माग्ने बुढा’को राष्ट्रपतिलाई व्यङ्ग्य : हामी त दशैँभरी कुर्सी बोकेर टीका लाउन हिँडियो

दशैंमा सामाजिक सञ्जालमा राष्ट्रपति विद्यादेवी भण्डारीको अगाडि घुँडा टेकेर दशैंको टीका थापेको तस्बिर र विषयले निकै चर्चा पायो ।

राष्ट्रपति कार्यालयमा पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, पूर्वप्रधानन्यायाधीश गोपाल पराजुली, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लगायतले कुर्सीमा बसेकी राष्ट्रपति भण्डारीसँग घुँडा टेकेर वा झुकेर टीका लगाएका तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल बने ।

यसबारे धेरै टीकाटिप्पणी पनि भइरहेका छन् । र अझै यस बिषयमा सामाजिक संजालमा ब्यङ्ग्य गर्ने क्रम भने रोकिएको छैन ।

यस्तैमा लोकप्रिय हाँस्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले यो बिषयमा गज्जबले व्यंग्य गरेका छन् । उनले बिहिवार (आज) प्लाष्टिकको कुर्सी हातमा बोकेको तस्विर फेसबुकमा शेयर गर्दै यस बिषयमा ब्यङ्ग्य गरेका छन्।

उनकी श्रीमती सीताले समेत कुर्सी बोकेको तस्बिर सार्वजनिक गर्दे उनले लेखेका छन् ‘हामी त दशैँभरी आफ्नै कुर्सी बोकेर टीका लाउन हिँडियो । कतै घुँडा टेक्नै परेन ।’

उनले यो व्यंग्य सिधै राष्ट्रपति कार्यालयबाट बाहिरिएका तस्वीरहरुलाई लक्षित गर्दे गरेका हुन् । राष्ट्रपति कार्यालयमा कुर्सी व्यबस्थापन नहुँदा केहि बिशिष्ट व्यक्तिहरुले हदैसम्मको आलोचना खेपिरहेका बेला केदारको यो व्यंग्य राष्ट्रपति कार्यालयमाथी रहेको स्पष्ट हुन्छ।

केदार पछिल्लो समय सानो पर्दा भन्दा पनि ठूलो पर्दामा देखिने गरेका छन् । उनी अभिनित पछिल्लो चलचित्र ‘छक्का पञ्जा ३’ यतिबेला तेश्रो हप्तामा प्रदर्शन भइरहेको छ ।

Loading...
प्रकाशित मिति ८ कार्तिक २०७५, बिहीबार १२:२१