विश्वप्रकाश शर्माको प्रम अोलीलाई चुनौती : ‘गर्धन थाप्छु तर मदन भण्डारीको नाममा रंगशाला बन्न दिन्नँ’

नेपाली कांग्रेसका युवा नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा बन्न लागेको रंगशालालाई कुनै पनि हालतमा स्व. मदन भण्डारीको नाममा बन्न नदिने चुनौती नै दिएका छन् ।

झापामा शुक्रबार एक कार्यक्रममा बोल्दै शर्माले भने, ‘रंगशालामा प्रधानमन्त्री केपी ओलीले राजनीति नगरुन्। जबरजस्ती गरे म पनि झापाकै हुँ। गर्धन थाप्छु, तर आदिवासी जनजाति रंगशालाको नाम परिवर्तन हुन कुनै हालतमा दिन्नँ।’

झापा निर्वाचन क्षेत्र नम्बर ५ को पाडाजुँगीमा ‘आदिवासी जनजाति’ नाम राखेर रंगशाला निर्माण गर्ने नेपाल सरकारको तयारी थियो। तर, सत्तारुढ दलको दबाबमा स्व. नेता मदन भण्डारीको नाममा रंगशाला निर्माण गर्न लागिएपछि त्यहाँका आदिवासी जनजाति आक्रोशित छन्।

पाडाजुँगी चोकको पूर्वपट्टि डेढदेखि दुई बिगाहा जमिनमा राई, लिम्बूहरू र तामाङ समुदायहरूको समाधिस्थल छ। त्यहाँ रंगशाला बनाउने प्रस्ताव २०६५ मै भई स्थानीयबाट स्वीकृत भएको थियो।

सबै राजनीतिक दल र स्थानीयले प्रस्तावमा स्वीकृति जनाएपछि ती समाधिस्थल मासेर रंगशाला बनाउँदा ‘आदिवासी जनजाति रंगशाला’ राख्ने सहमति बनेको थियो। माधवकुमार नेपाल नेतृत्वको सरकारताका तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारी आएर त्यहाँ ‘आदिवासी जनजाति रंगशाला’कै नाममा शिलान्यास भएको थियो।

अहिले त्यो सहमति विपरीत सत्तारुढ दलको प्रभावमा नाम बदलेर ‘मदन भण्डारी रंगशाला’ नाममा बजेट विनियोजन भएको छ। नाम बदलेर राष्ट्रिय बजेटबाटै विनियोजन भएपछि आदिवासी जनजाति समुदाय आक्रोशित छन्।

‘यहाँ मदन भण्डारीको नाममा केही बनाउने हो भने अरू केही विज्ञान तथा प्रविधि क्षेत्रमा योगदान दिने संस्था बनाऔं, नत्र जनभावना विपरीत रंगशालाको नाम बदल्न खोजिए गर्दन थाप्छु भनेको हुँ,’ शर्माले भने , उनले बहुसंख्यक अादिवासी जनजातिको समाधिस्थल मासेर निर्माण गर्न लागिएको रंगशालामा प्रधानमन्त्री अोलीले राजनीति गरेको आरोप समेत लगाए।

Loading...
प्रकाशित मिति १० कार्तिक २०७५, शनिबार ०३:५५