दर्दनाक घटना : काक्रो खान गएकी रमिला, गोली खाएर फर्किन्

अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् ।

दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् ।

दिदी सुस्मिता बुमीसँगै कोदोबारीमा काँक्रो लिन जाँदा उनी गोलीको पासोमा परेकी हुन् । कोदोबारीमा छिमेकीले स्याल फसाउनका लागि भनेर थापेको जर्जन पड्कँदा (चलाउँदा बन्दुक पड्केर कुनै पनि प्राणीलाई गोली लाग्ने गरी थापिएको पासो) उनको दाँया घुँडाको मुनि तिघ्रामा लागेर हड्डी र नसा छिनाल्यो ।

“ब्वाङ्ग आवाज आउने बित्तकै ढलेँछु”, त्यो क्षणलाई सम्झँदै उनले भनिन्, “उठ्न खोज्दा खुट्टा टेक्न सकिएन ।” छाम्दा हड्डी भाँचिएको र मासुसमेत भ्वाङ परेको देखेर बेहोस भएको दर्दनाक अनुभव बुमीले सुनाइन् ।

त्यो दुर्घटनामा परेकी उनलाई त्यहाँ उपचारको कुनै विकल्प थिएन । तत्काल तीन लाख ५० हजारमा हेलिकोप्टर चार्टर गरेर सुर्खेत पुर्याइएको रमिलाका मामा ज्योति गिरीले बताए ।

“सुर्खेतमा समेत उपचार हुननसकेपछि जिप बुक गरेर भारतको लखनउ लग्यौँ”, गिरी भने, “गोली लागेको ३६ घण्टा नाघेकाले खुट्टा मरिसकेको रहेछ ।” काट्नुको विकल्प नरहेको र शल्यक्रिया गरेर खुट्टा फाल्नुपरेको उहाँले दुःख प्रकट गरे । बुमीको उपचार गर्न हालसम्म रु सात लाख खर्चेको उनले जनाए ।

त्यही घटनालाई लिएर आमा पवित्रा र बुबा जनक बुमीले जिल्ला प्रहरी कार्यालय जुम्लामा आफ्ना छिमेकीविरुद्ध जाहेरी निवेदन हालेको गिरीले बताए ।

अञ्जानवशः ठूलो भूल भएको भन्दै छिमेकीले क्षमायाचना गरेको र रमिलाको जीवनभर स्वास्थ्य अवस्थामा आउने समस्या तथा अहिलेसम्म भएको सबै उपचार खर्च तिर्न छिमेकी मञ्जुर भएकाले कानूनी प्रक्रियाभन्दा मेलमिलाप गर्ने शर्तमा अघि बढ्ने सङ्केत उनका मामा, आमाबुबाले दिएका छन् ।

जनप्रिय आधारभूत विद्यालय कक्षा ५ मा अध्ययरत रमिला कक्षाका प्रथम विद्यार्थी हुन् । उक्त विद्यालयमा मेधावी छात्राका रूपमा नाम दर्ज गरेकी उनले आफ्नो एक महीनाको पढाइ छुटेकोमा चिन्ता गरिन् ।

पढेर असल मान्छे बन्ने र आमाबुबाको सहयोगी बन्ने सपना लिएकी रमिलालाई अब भने उल्टै सहयोगी आवश्यक हुने भएको छ । रासस

Loading...
प्रकाशित मिति ११ कार्तिक २०७५, आईतवार ०४:४७