भुकम्पपछि ‘भारतले सहयोग कबुल’ गरेकाे ७५ अर्ब दिएन

भुकम्प पछि पुनर्निर्माणका लागि भारतले दिने भनेको ७५ अर्ब रुपैयाँ नआउने भएको छ। भारतले पुनर्निर्माणका लागि २५ अर्ब अनुदान र एक्जिम बैंकमार्फत सहुलियत ऋणमा ७५ अर्ब घोषणा गरेको थियो। जुन नदिने भएको छ ।

भूकम्पलगत्तै सरकारले आयोजना गरेको ‘नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले १ खर्ब रुपैयाँ सहयोग घोषणा गरेकी थिइन्। उनले पाँच वर्षभित्र सबै रकम उपलब्ध गराइसक्ने प्रतिबद्धतासमेत जनाएकी थिइन्। त्योमध्ये अहिलेसम्म भारतले २ प्रतिशत रकम मात्रै दिएको छ। उसले अर्थ मन्त्रालयमार्फत २०७५ साउन ११ मा २ अर्ब १० करोड ४३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ। तर सहयोग घोषणामै सीमित बनेको छ।

एक्जिम बैंकमार्फत दिने भनिएको ७५ अर्ब रकम नदिने भयो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुष्टि गरे। ‘एक्जिम बैंकको ७५ अर्ब नआउने भयो, भारतले दिने अनुदानको रकम पनि ढिलो गरी आउँदै छ’, उनले भने।

भारतको सर्तका कारण एक्जिम बैंकको रकम प्रयोग गर्न नसकिएको प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठको भनाइ छ। उनले भने- ‘भारतकै डिजाइनमा संरचना निर्माण गर्नुपर्ने एक्जिम बैंकको प्रावधान छ, त्यसअनुसार यहाँ पुनर्निर्माणको काम हुन सक्दैन’ ‘त्यसैले एक्जिम बैंकको रकम प्रयोग हुन नसकेको हो।’

Loading...
प्रकाशित मिति ११ कार्तिक २०७५, आईतवार २३:००