Breaking : प्रधानमन्त्री ओलीलाई एमसिसियुमा राखियो

छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिन अस्पतालमै ‘अब्जर्भेसन’ का लागि राखिने भएको छ ।

उनकोे शरीरमा ‘लोयर रेस्पिरेटरी ट्राक इन्फेक्सन’ (एलआरटिआइ) का कारण चिनीको मात्रा असन्तुलित भएकाले ‘एन्टी बायोटिक इन्सुलेन्स’ दिई सूक्ष्म अवलोकनका लागि राखिएको हो ।

गत शुक्रबारदेखि सामान्य अस्वस्थ्य भएका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीलाई आज बिहान ०४ः३० बजे उक्त अस्पतालको ‘मनमोहन कार्डियोथोरासिस भाष्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’ को ‘मोबाइल कोरोनेरी केयर युनिट’ (एमसिसियु) मा राखिएको छ ।

सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले उनकोे छातीमा भएको सङ्क्रमणमा क्रमिक सुधार आएको र अरु स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिए । प्रा.डा श्रेष्ठले केही दिनमै प्रधानमन्त्री ओली स्वास्थ्यलाभ गरी निवास फर्किने अपेक्षा गरे ।

प्रधानमन्त्री ओलीको उपचारका लागि वरिष्ठ कार्डियोलोजिष्ट डा अरुण सायमीको संयोजकत्वमा निजी चिकित्सक डा दिव्या सिंह र डा सन्त दास सम्मिलित तीन सदस्यीय टोली गठन गरिएको छ । डा सायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा चिनी (सुगर) को मात्रा गए राति ३०० मिलिग्राम देखिएकामा अहिले क्रमशः सन्तुलित हुन थालेको छ ।

प्रधानमन्त्रीलाई उपचारका लागि विदेश लैजानुपार्ला कि भन्ने पत्रकारको जिज्ञासामा उनका निजी चिकित्सक डा सिंहले शिक्षण अस्पतालको ‘अब्जर्भेसन’ पछि यसबारेमा थाहा हुने प्रतिक्रिया दिइन् । डा सिंहले ओलीलाई एमसिसियुमा राख्नुपर्ने अवस्था नरहे पनि भेटघाटका लागि आउने भीडका कारण थप सङ्क्रमण हुन सक्ने भएकाले उक्त कक्षमा आराम गराई उपचार गराइएको जानकारी दिइन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मौसमी रुघाखोकी र हल्का ज्वरो कम नभएकाले प्रधानमन्त्री ओली बिहान आफैँ गाडीमा बसेर अस्पताल जानुभएकाले उनको स्वास्थ्य अवस्था गम्भीर नरहेको बताए ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत वरिष्ठ नेताहरु तथा मन्त्रिगण अस्पताल पुगेका थिए ।

Loading...
प्रकाशित मिति १२ कार्तिक २०७५, सोमबार ०९:३७