चिनले लुम्बिनीमा दिएको बिद्युुुुतिय बस सरकारले जवर्जस्त काठमाडौंमा चलायो

एसियाली विकास बैंक मातहतको एसियन क्लिन इनर्जीले लुम्बिनी विकास कोषसँगको सहकार्यमा लुम्बिनीमा पर्यटक लक्षित ५ वटा विद्युतीय बस र ११ वटा कार सहयोग गर्ने निर्णय गर्‍यो।

सोहि निर्णय अनुसार एडिबीले लुम्बिनीका लागि पहिलो चरणमा २ वटा बस पठायो। लुम्बिनीमा केही भए पनि प्रदुषण कम गर्ने र यहाँ आउने पर्यटकलाई स्तरीय वातानुकुलित सुविधा दिने उद्देश्यले एडिबीले बस दिएको थियो। तर, लुम्बिनी ल्याउनुको सट्टा बेलहियादेखि ट्रकमा राखेर काठमाडौं लगिएपछि चौतर्फी विरोध सुरू भएको छ।

लुम्बिनीका लागि करिब दुई करोड मूल्य बराबरका दाताले दिएका बस काठमाडौं पुर्‍याएर साझा यातायातमार्फत् सञ्चालनमा ल्याएपछि लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी र स्थानीय आक्रोसित भएका हुन्।

लुम्बिनीका स्थानीय शत्रुधन तिवारीले सरकारले ती बस फिर्ता नपठाए आन्दोलनमा उत्रिने चेतावनी दिए। दिनप्रतिदिन बढ्दै गएको धूलोधूँवाको कारण लुम्बिनीमा प्रदुषण बढिरहेको बेला सरकार आफैंले पर्यटकहरूका लागि सुविधा सम्पन्न बस सञ्चालन गर्नुपर्नेमा दाताले दिएका बस समेत लैजानु अत्यन्त लाजमर्दो कार्य भएको उनले बताए।

एडिबीले लुम्बिनी विकास कोषसँग ९ जनवरी २०१८ मा विद्युतीय बस र कार दिने सम्झौता गरेको थियो। लुम्बिनीका लागि ल्याइएको विद्युतीय बस गत मंगलबार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्धजन्मस्थल लुम्बिनीसम्म सञ्चालन हुने गरी प्रदुषणरहित सवारी सञ्चालन गर्ने भनिए पनि सरकारी लापरबाहीले बस एकाएक काठमाडौं पुर्याइएको हो ।

एकाएक काठमाडौं पुर्‍याएर बस उद्घाटन गरिए पनि बस चार्जिङको लागि स्टेशन भने लुम्बिनीमै निर्माण भइरहेको छ। लुम्बिनीको संग्रहालय नजिकै करिब १२ करोडको लागतमा बस चार्जिङका लागि स्टेशन बनिरहेको छ।

जापानस्थित ईशाका कम्पनीले चालू वर्षको अन्तिमसम्म काम सम्पन्न गर्नेगरी ३ महिना अगाडि बस चार्जिङ स्टेशन निर्माणको लागि ठेक्का पाएको थियो ।

पहिलो चरणमा आएका दुइटा बस काठमाडौं पुर्‍याइएको छ भने ३ वटा बस र ११ वटा कार आउन बाँकी छन्। एडिबीले प्रदान गर्ने सबै बस र कार विद्युतीय हुन्।

Loading...
प्रकाशित मिति १३ कार्तिक २०७५, मंगलवार २२:५५