भारतको दादागिरी : पोखरा एयरपोर्ट निर्माणमा गर्यो अवरोध !

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनिया ठेकेदार कम्पनीले जमिनमुनि भेटिएको चट्टान फुटाउन आवश्यक बमबारुद किन्न झमेला ब्यहोर्नुपरेको छ ।

संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध उप–समितिका संयोजक माधव कुमार नेपाल नेतृत्वमा आएको अनुगमन टोलीसँगको भेटघाटमा ठेकेदार कम्पनीका अधिकारीले उक्त गुनासो सुनाए । ठेकेदार कम्पनी सीएएमसीईका प्रोजेक्ट म्यानेजर जेरी याङले बिहीबार संसदीय समितिको टोलीलाई एयरपोर्ट निर्माणको गतिविधिबारे ब्रिफिङ गरेका थिए ।

सीएएमसीईका जनसम्पर्क अधिकृत कृष्ण चापागाईंका अनुसार अहिले एयरपोर्टको धावनमार्गको स्वरुप तयार गर्ने लगायत काम भइरहेको छ । त्यही क्रममा जमिन खन्दा निस्केका ठूला ढुंगा र कडा भूगर्भ फुटाउन बिस्फोटक पदार्थ आवश्यक परेको हो । पोखराको सेती नदीपूर्वको भूगर्भ सिमेन्टले जमाएको जस्तो अवस्थामा छ ।

तालुकवाला निकाय नागरिक उड्डयन प्राधिकरण, उड्डयन मन्त्रालय हुँदै अर्थ, गृह रक्षा हुँदै प्रक्रिया भारतीय दूतावास पुगेको जानकारी चापागाईंले दिए । उनकै भनाइमा बिस्फोटक पदार्थ भारतबाट किन्नुपर्ने हुँदा दूतावास हुँदै प्रक्रिया पूरा गर्नुपर्छ।

‘त्यहाँबाट पनि स्वीकृति मिलेपछि खरिदका लागि हामी एलसी खोल्छौं’, उनले भने । विस्फोटक पदार्थजस्ता सामग्री अहिलेसम्म नेपालले चीनतिरबाट नल्याएको हुँदा भारतकै भर पर्नुपरेको उनले सुनाए । मेसिनले ड्रिल गरी जमिन खनेरमात्रै साध्य नहुने देखिएपछि विस्फोटक पदार्थ चाहिएको बताइन्छ ।

चापागाईंका अनुसार एयरपोर्टको अहिलेसम्म १७ प्रतिशत काम पूरा भएको छ । जमिन सम्याउने र धावनमार्गको स्वरुप तयार गर्ने काम भइरहेको उनले बताए । टर्मिनल भवनको जग पनि तयार भइसकेको छ ।

संरचनाको डिजाइन स्वीकृतिमा समेट ढिला भइरहेको ठेकेदार कम्पनीको अर्काे गुनासो छ । सीएएमसीईले संरचनाहरुको डिजाइन परामर्शदाता कम्पनीको सुझावअनुसार बनाएको तर अहिलेसम्म स्वीकृत नभएको प्रोजेक्ट म्यानेजर याङले सुनाएका थिए । ‘विस्फोटक पदार्थ खरिद, डिजाइन स्वीकृत लगायत सरकारी प्रक्रियाहरु छिटोछिटो हुने हो भने डेडलाइनभन्दा अघि नै विमानस्थल पूरा गर्छाैं’, याङको भनाइ थियो ।

विमानस्थल निर्माण जारी रहँदा पनि कतिपय जमिन अधिग्रहणको काम पूरा भएको छैन । पोखरा विमानस्थल निर्माण पूरा भइसकेपछि आवश्यक हुने आकाशमार्गका लागि पनि भारतले अहिलेसम्म स्वीकृति दिएको छैन । अन्नपूर्ण पोष्टमा समाचार छ ।

Loading...
प्रकाशित मिति १५ कार्तिक २०७५, बिहीबार १५:३०