विवादमा कालिञ्चोक केबलकार : बन्द नगरे कडा आन्दोलन गर्ने चेतावनी

कालिञ्चोक सरोकार तथा संघर्ष समितिले केही दिन अघि परीक्षण गरिएको कालिञ्चोक केवुलकार अनधिकृत रुपमा निर्माण गरिएको आरोप लगाएको छ ।

समितिले पत्रकार सम्मेलन गर्दै अनधिकृत रुपमा जंगल तथा चरण क्षेत्र कब्जा गरेर दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका १ स्थित ऐतिहासिक कालिञ्चोकमाई भगवतीलाई माध्यम बनाई कालिञ्चोक दर्शन लिमिटेड (केवुलकार) खोलिएको भन्दै विरोध जनाएको हो ।

समितिका सल्लाहकार नरबहादुर पाख्रिनले कालिञ्चोक केबुलकार कानूनसम्बत निर्माण नगरिएको दाबी गर्दै भने – ‘कालिञ्चोक केबुलकारको निर्माण नै अनधिकृत रुपमा भएको छ, राष्ट्रिय जंगल तथा चरन क्षेत्रलाई कब्जा गरेर बनाइएको छ, हामी त्यस क्षेत्रका मानिसहरुले कालिञ्चोक भगवतीमाईको सभ्यता, इतिहासलाई जोगाएर राखेका थियौं, हाम्रो संघर्ष कुनै व्यक्तिका विरोधमा होइन ।’

कुनै परिवारको विरोधमा नभएर आफूहरुको समर्थन इतिहासलाई जोगाउन भएको उहाँको भनाई छ । ‘हाम्रो समर्थन कालिञ्चोकमाइको गरिमालाई जीवन्त बनाइराख्न हो, मन्दिरको प्राकृतिक रुप र आकारलाई बचाइराख्न हो, मन्दिरमा लाग्ने मेलाहरुमा आन्तरिक तथा बाह्य भक्तजनहरुले परम्परागत रुपमा धर्मकर्म र आवतजावत गर्न पाउनुपर्छ, प्राकृति रुपमा बनेका बाटोहरु यथावत रहनुपर्छ, व्यक्तिगत लाभ र सम्पति कमाउनको लागि कसैले पनि राष्ट्रिय सम्पत्ति कब्जा गर्नु हुँदैन ।’

‘गौरीशंकर संरक्षण क्षेत्रले केवुलकार निर्माण पक्षलाई ५० वर्षको लागि लिजमा दिन कानूनले मिल्दैन’

सत्ता र शक्तिको आडमा यस्तो गलत काम भैरहेको आरोप लगाउँदै उहाँले आफूहरुले यसको खरो विरोध गर्ने चेतावनी दिए। ‘हामीले कानूनी आधारमा यसको समाधान खोजेका छौं, यदि हाम्रो आवाज सुुनुवाई भएन भने हाम्रो आन्दोलनले बिकराल रुप लिनेछ, त्यसको जिम्मेवारी नेपाल सरकारले लिनुपर्नेछ ।’

कालिञ्चोक केबुलकारको निर्माण अवैधानिक रहेकोले कुनै पनि हालतमा खारेजी हुनुपर्ने माग गरेका छन् ।

Loading...
प्रकाशित मिति १९ कार्तिक २०७५, सोमबार १२:२१