जसले अाज कुकरको पुजा नगरी खाना खान्छ उसलाई पाप लाग्छ

हिन्दू नेपालीको दोस्रो ठूलो पर्व यमपञ्चकको दोस्रो दिन, अाज कुकुर तिहार मनाइँदै छ । कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिइ पूजा गरेर कुकुर तिहार मनाइन्छ ।

कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने धार्मिक विश्वास छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।

कुकुर आज्ञाकारी, घर रक्षक एवम् गुनिलो घरपालुवा जनावर पनि हो । कुकुरलाई भैरवको बहान पनि भनिन्छ । यो जनावरले सुँघेर अपराधीहरू पत्ता लगाउने र विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना समेत दिने गर्छ ।

कुकुर इमान्दार र वफादार जनावर पनि हो । घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ । परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक इमान्दार पहरेदार जन्तुका रूपमा पूजा गर्ने चलन छ।

सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।

यस दिन मासको पात खाने चलन छ । लिङ्ग पुराणअनुसार यस दिन मासको पातको साग खानाले मानिसको सबै पाप नास हुन्छन् भन्ने जनश्रुति पाइन्छ ।

Loading...
प्रकाशित मिति २० कार्तिक २०७५, मंगलवार ०३:५३