के तपाईलाई समान्यताय अरु मानिसलाई भन्दा बढी जाडो महशुस हुन्छ? हाम्रो शरीरमा रहेको विभिन्न स्वास्थ्य समस्याका कारण कोही–कोही मानिसलाई बढी नै जाडो महसुस हुन्छ। यदि कसैलाई अरूभन्दा बढी जाडो महसुस भइरहेको छ भने त्यसको सम्बन्ध स्वास्थ्य समस्यासँग पनि हुन सक्छ।
तौल कम हुनु
तौल कम हुनेहरूको शरीरमा बोसो धेरै हुँदैन। बोसोले चिसोबाट जोगाउँछ। कम वजन हुनेहरूले शरीरको तापक्रम बनाइराख्न प्रोटिनयुक्त खाना खानुपर्छ। दूध, पनिर, घीउ, दाललगायत खानेकुरा खानुपर्छ।
एनिमिया
रगत र भिटामिन बी–१२ को कमीले गर्दा शरीरमा रातो रक्तकोशिका बन्न पाउँदैन। सँगै, शरीरलाई चाहिने पर्याप्त मात्रामा अक्सिजन लैजान सक्दैन। जसले गर्दा आवश्यक पर्ने तत्व र तातोपना कोशिकासम्म पुग्दैन र मानिसलाई बढी चिसो लाग्छ।
असन्तुलित थाइराइड
असन्तुलित थाइराइडका कारणले गर्दा शरीरबाट ऊर्जा निस्कन पाउँदैन र मान्छेले बढी जाडो महसुस गर्छ।
पानीको कमी हुनु (डिहाइड्रेसन)
पानीले शरीरको तापक्रम नियन्त्रित गर्छ। यसले ऊर्जाको स्तरलाई बनाइराख्छ र शरीरको तापमानलाई आरामदायी अवस्थामा ल्याएर बिस्तारै ऊर्जा छोड्छ।
तनाव
तनावले गर्दा पनि शरीरको तापमानमा अन्तर आउँछ। झगडा अथवा व्यस्तताको तनावपूर्ण स्थितिमा मानिसलाई बढी जाडो लाग्छ। भावनात्मक स्थितिले शरीरको तापक्रममा परिवर्तन ल्याउँछ। दुःखी र एक्लै बस्दा पनि मान्छेले चिसो महसुस गर्छ।
जाडोबाट बच्न शरीरलाई तातो बनाउने खानेकुरा खानुपर्छ। सुप, दूध, चना, साग, बदाम, ओखर लगायतले शरीरलाई न्यानो बनाउन मद्दत गर्छ तसर्थ बेलैमा सचेत बनौ र स्वस्थ रहौँ।